नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संकीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न सक्नुपर्ने बताएकी छन्।
राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको ३५ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले नेपालीले सही विश्लेषणका आधारमा नेपालको ऐतिहासिकता र मौलिकताको उजागर गर्न सक्नुपर्नेमा जोड दिए।
राम नेपालकै अयोध्यामा जन्मेका हुन् भन्नु वा पशुपतिनाथलाई संरक्षण गर्दै त्यहाँभित्रको वैज्ञानिकतालाई जनताका पक्षमा उपयोग गर्न खोज्दा त्यसलाई आध्यात्मवादसँग जोड्नेहरूप्रति आफूलाई दया लाागेको अध्यक्ष ओलीको भनाइ थियो।
‘वामपन्थीहरूको बहुमतको सरकार ढालेर दर्शन नमिल्ने विपक्षीको पछि लाग्ने अनि समाजवादको नेपाली बाटोको कार्यदिशा लिइनु कलंकीतिर हिँडेर भक्तपुर जाँदैछ भन्नुजस्तै हो’, नेकपामा भएको विभाजनतर्फ लक्ष्य गर्दै अध्यक्ष ओलीले, ‘जनतालाई यतिसम्म ढाँट्ने यो एक प्रकारले भीषण सांस्कृतिक विचलन हो। हामीले योजनाबद्ध रूपमा सांस्कृतिक क्षेत्रलाई गतिशील बनाउन लाग्नुपरेको छ।’
एमाले फुटाउनुलाई अग्रगमन मान्ने पक्षलाई जवाफ दिँदै उनले एमालेले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनलाई आत्मसात् गरेर हिँड्ने पार्टी भएको जनाए।
उनले मुलुकमा नेताहरूका लामा भाषणको तुलनामा जनस्तरमा चेतना र परिवर्तनको बिगुल फुक्नका लागि सांस्कृतिक कर्मीका लेख, रचना र प्रस्तुतिले असाधारण योगदान दिएको बताए।
एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले विश्वको परिवेशलाई समेत ख्याल गरेर कम्युनिष्ट धारलाई जनतामुखी बनाउन संस्कृतिकर्मीको भूमिका हुने बताए।