राष्ट्रिय सभा रिक्त सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ६ जनाले मनोनयन दर्ता गरेका छन्।
मंगलबार दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर सत्तारूढ दलले मिलेर मनोनयन दर्ता गराएका हुन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले एकल रूपमा उम्मेदवारी दर्ता गरेको छ।
माघ १२ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले मंगलबार मनोनयन दर्ता गरेका हुन्। सत्तारूढ गठबन्धनले राष्ट्रिय सभामा पनि मिलेरै मनोनयन दर्ता गराएका हुन्।
त्यस्तै, नेकपा एमालेबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएको एमाले दाङका नेता टीकाराम खड्काले जानकारी दिए।
मनोनयन दर्ता गराउन जाँदा सत्तारूढ दलहरूले घोराहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट जुलुससहित संयुक्त रूपमा गएका थिए।
त्यस्तै, एमालेका नेताहरू पनि दलबल र ब्यानरसहित मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए।
जिल्लादेखि प्रदेशका नेता, मन्त्रीहरू तथा स्थानीय पालिकाका प्रमुखहरू समेत मनोनयन दर्ता कार्यक्रममा गएका थिए।