म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई गैरकानुनी रूपमा वाकीटकी भित्र्याएको र प्रयोग गरेको आरोपमा एउटा अदालतले चार वर्ष जेल सजाय सुनाएको छ।
समाचार संस्था एपीका अनुसार सोमबार ७६ वर्षीया सुकीलाई वाकीटकीसँगै कोरोना भाइरसका प्रतिबन्ध उल्लंघन गरेको अभियोगमा चार वर्ष जेल सजाय हुने फैसला गरिएको हो।
यसअघि पनि म्यानमारको अदालतले सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै सुकी जेल सजाय सुनाएको थियो।
पछि उक्त सजाय आधा घटाइएको थियो।
गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो।
सैनिक कूभन्दा केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने बताएको थियो। उक्त चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो।
सेनाले कू गरेपछि म्यानमारमा दिनदिनै जसो प्रदर्शनहरू भइरहेका छन्। ती प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म १३ सय बढी नागरिकले ज्यान गुमाएका छन्।