नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ।
पुस २३ गतेदेखि सुरू भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो।
जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले आज जारी गरेको विज्ञप्तिमा अर्काे सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ।
विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ।
उक्त अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो।
बन्दसत्रले पार्टी अध्यक्ष रावलद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो।
निर्वाचन प्रक्रिया सुरू हुनुअघि अधिवेशन स्थगित गरिएको हो। जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए।