भारतको बहुजन समाज पार्टी (बसपा) की अध्यक्ष तथा उत्तर प्रेदशकी पूर्वमुख्यमन्त्री मायावती आउने विधान सभा चुनाव नलड्ने भएकी छन्।
पार्टीका महासचिव सतिशचन्द्र मिश्राले मंगलबार समाचार एजेन्सी एएनआईसँग कुराकानी गर्दै आफू र अध्यक्ष मायावतीले विधान सभा चुनाव नलड्ने बताएका हुन्। चुनावमा अरू नेताहरूलाई अघि सार्न भन्दै उनले आफूहरू पछि हटेको दैनिक भास्करले जनाएको छ।
‘म राज्यसभाको सदस्य हुँ। कैयौं प्रदेशहरूमा चुनाव भइरहेको छ। मायावती पनि अरू नेताहरूलाई उम्मेदवार बनाउन चाहन्छिन्। त्यसैले हामी चुनाव लड्दैनौं,’ उनले भने।
उनले चुनावबाट समाजवादी पार्टी र भाजपाको नभई आफूहरूको पार्टी सत्तामा आउने पनि दाबी गरे।
बसपाले विधान सभाका ४०३ वटै सिटमा चुनाव लड्नेसमेत घोषणा गरेको छ। पार्टीले अहिलेसम्म कसैसँग गठबन्धन गरेको छैन।
मायावती चार पटक उत्तर प्रदेशकी मुख्यमन्त्री भइसकेकी छन्।
अहिले उत्तर प्रदेशमा सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का योगी आदित्यनाथ मुख्यमन्त्री छन्। उनले भने यस चुनावमा पनि भाजपाकै मुख्यमन्त्री रहने बताएका छन्।
मुख्यमन्त्री आदित्यनाथले आफूहरूले विधानसभाको चुनाव भारी मतले जित्ने बताएका हुन्।
उत्तर प्रदेशमा १० फेब्रुअरीदेखि सात चरणमा मतदान हुँदैछ। मतगणना भने १० मार्चदेखि हुनेछ।