जिल्ला अदालत दाङमा सोमबारदेखि गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ सुरू भएको छ।
गोला प्रक्रिया जिल्ला अदालतमा सुरू भएको पहिलो पटक हो।
अदालतमा दर्ता भएका मुद्दाहरूको बाँडफाँट तथा सुनुवाइ प्रक्रियामा पारदर्शिता कायम गर्न र अदालतबाट सम्पादन हुने न्यायिक कामकारबाहीप्रति जनआस्था अभिवृद्धि गर्ने उद्देश्यसहित पहिलो पटक गोला प्रक्रियामार्फत् मुद्दाको सुनुवाइ सुरू भएको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले सेतोपाटीलाई बताए।
‘आजदेखि औपचारिक रूपमा गोला प्रक्रियाद्वारा अपारदर्शी थैलीमा राखिएका गोला रोजेर माननीय जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालले मुद्दा सुनुवाइको प्रक्रिया थालनी गर्नुभएको हो,’ सूचना अधिकारी शर्माले भने।
अदालमा कार्यरत अन्य दुई जना न्यायाधीशहरू बिदामा भएकाले उपस्थित न्यायाधीश शर्मा अर्यालले साप्ताहिक पेसी सूचीमा चढेका तीन वटा मुद्दा समूहमध्ये गोला छानेर २ नम्बर फाँट समूहका मुद्दाको सुनुवाइ सुरू गरेको शर्माले जानकारी दिए।
जिल्ला अदालत नियमावली २०७५ तथा जिल्ला अदालतमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८ बमोजिम साप्ताहिक पेसी सूचीमा चढेका दुइटा कजलिस्ट मुद्दा फाँट १ र मुद्दा फाँट ४ समूहका सबै मुद्दाहरू स्थगित भएको सूचना अधिकारी शर्माले बताए।
‘ती फाँटसँग सम्बन्धित पूरक पेसीको रूपमा पेस भएका निवेदनहरू भने स्थगित नभई उपस्थित न्यायाधीशबाट सुनुवाइ हुने दैनिक कजलिष्टमा थप गरी सुनुवाइ प्रक्रिया सुरू गरिएका छन्,’ सूचना अधिकारी शर्माले थपे, ‘बल इजलासबाट हेरिने मुद्दाबाहेक अदालतमा दर्ता भएका सबै मुद्दाहरू अब उप्रान्त साप्ताहिक पेसी सूचीमा चढेका मुद्दाहरूका आधारमा गोला प्रक्रियाबाट प्रत्येक दिन सुनुवाइ हुने मुद्दाको टुंगो तानेर लगाइने छ।’
गोला प्रक्रियाको थालनीले कुन न्यायाधीशको इजलासमा मुद्दा पर्छ वा मुद्दाको सुनुवाइ गर्दछ? भन्ने पूर्वअनुमान लगाउन नसकिने हुँदा पारदर्शिता कायम गर्न र अदालतबाट सम्पादन हुने न्यायिक कामकारबाहीप्रति जनआस्था अभिवृद्धि गर्न सहज हुने सूचना अधिकारी शर्माले विश्वास व्यक्त गरे।
‘यसपूर्व कुन मुद्दा कुन न्यायाधीशको इजलासबाट सुनुवाइ हुने हो ? भन्ने कुराको सहज जानकारी मुद्दा दर्ता भई फाँटमा पुग्दाकै बखत मुद्दाका पक्षहरूलाई जानकारी रहन्थ्यो,’ सूचना अधिकारी शर्माले भने, ‘अब त्यस्तो सम्भावना रहँदैन र त्यसले गर्दा कसैले पनि चलखेल गर्न पाउने सम्भावना रहँदैन।’
पछिल्लो समयमा न्याय सम्पादनमा पारदर्शी ल्याउन थालनी गरिएको गोला प्रथा प्रक्रिया साप्ताहिक पेसी सूचीमा नचढेका तर इजलास समक्ष सुनुवाइका लागि पेस हुनुपर्ने व्यवस्था गरिएको छ।
जसमा मिलापत्र तथा मुद्दा फिर्ता अधिकृत वारेसनामाको प्रमाणित र विशेष प्रकृतिका निवेदनजस्ता निवेदनहरू सामान्यतया सुनुवाइको अघिल्लो दिन अपरान्ह ३ बजेसम्म दर्ता भएमा आउने दैनिक पेसी सूचीमा थप गरी सुनुवाइ हुनेछन्।
तर, त्यस्ता निवेदनबाहेक सोही दिन इजलासबाट निकासा दिनुपर्ने पक्राउ पुर्जीको अनुमति, जरूरी पक्राउ पुर्जीको स्वीकृति म्याद थप, कल डिटेल लगायतका विषयहरूमा पेसी सूचीको स्थगित नभएको सूचीको संकेतांकको क्रमानुसार अघिल्लो क्रममा रहेको समूह सूचीको सुनुवाइ गर्ने इजलासबाट निकासा दिइने छ।