एक लाखभन्दा बढी रूसी सैनिकले युक्रेनलाई घेरेपछि पश्चिमा मुलुकहरूले युक्रेन र वरिपरि हतियार र सैनिक केन्द्रीत गरेका छन्।
सोमबार उत्तर अमेरिकी सन्धी संगठन (नेटो)ले पूर्वी युरोपमा थप सैनिक लडाकु युद्धपोतहरू पठाएको छ।
समाचार संस्था एपीका अनुसार नेटोले युक्रेनको वरिपरिका मुलुकमा थप लडाकु जहाज पनि पठाएको छ।
डेनमार्कले ब्ल्याक सीमा युद्धपोत पठाएको छ भने लिथुयानिमा चार वटा एफ-१६ फाइटर जेट राख्न लागेको छ। नेटोको नौ सेनालाई सहयोग गर्न स्पेनले जहाज पठाउँदैछ। उसले बुल्गेरियामा रहने गरी फाइटर जेट पठाउने तयारी गरेको छ। फ्रान्सले नेटोको कमाण्डमा रहने गरी रोमानियामा आफ्ना सैनिकहरू पठाउन तयार रहेको बताएको छ।
अमेरिका र बेलायतले यसअघि नै युक्रेनमा हतियार पठाइसकेका छन्।
गत साता केइभ पुगेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले २ सय मिलियन अमेरिकी डलर सैन्य सहायता गर्ने वचन दिएका थिए। त्यसैको एक हिस्साका रूपमा हलुका हतियारहरू युक्रेनलाई दिइएको छ।
यसअघि बेलायतले एन्टी ट्यांक हतियारहरू युक्रेनमा पठाएको थियो भने क्यानडाले स्पेशल फोर्सका केही अधिकारीहरूलाई युक्रेन खटाएको थियो।
बेलायतका रक्षा मन्त्री बेन वालेसले संसदमा केही बेलायती सैनिकहरूले युक्रेनी सेनालाई तालिम दिने जानकारी दिएका छन्।
आइतबार अमेरिकी विदेश मन्त्रालयले पूर्वी युरोपेली मुलुक युक्रेनमा रहेका आफ्ना कूटनीतिज्ञका परिवारलाई जति सक्दो छिटो युक्रेन छोड्न भनेको छ।
रूसले युक्रेनमाथि आक्रमण गर्न सक्ने भएकाले आक्रमणपछि आफ्ना नागरिकलाई उद्धार गर्न कठिन हुने भन्दै अमेरिकी विदेश मन्त्रालयले कूटनीतिज्ञका परिवारलाई सार्वजनिक वा निजी सवारी प्रयोग गरेर युक्रेनबाट बाहिरिन भनेको हो। अमेरिकाले केही कूटनीतिज्ञलाई पनि मुलुक छोड्न अनुमति दिएको छ।
युक्रेनको राजधानी केइभमा युरोपमा अमेरिकाको सबैभन्दा ठूलोमध्येको दूतावास छ। केइभको अमेरिकी मिसनमा ९ सय जना बढी मानिसले काम गर्छन्। तीमध्ये धेरै युक्रेनियन छन्।
अमेरिकी विदेश मन्त्रालयले यात्रा जोखिमको सबैभन्दा उच्च चौथो तहमा राख्दै युक्रेन भ्रमण नगर्न आफ्ना नागरिकलाई भनेको छ।
अमेरिकी विदेश मन्त्रालयको यो सूचनापछि रूसले युक्रेनमा आक्रमण गर्नै लागेको हो कि भनेर संसारभरि चासो बढेको छ।
शनिबारमात्रै बेलायतले केइभमा अहिलेको सरकारलाई हटाएर रूस समर्थित व्यक्तिलाई सत्ता सुम्पिने रूसी राष्ट्रपति भ्लादमिर पुटिनको योजना रहेको बताएको थियो। भिजिलान्तेहरू प्रयोग गरेर रूसी सैनिकमाथि आक्रमण गर्ने र पहिला हामीमाथि आक्रमण भएको थियो भनेर रूसी सैनिकहरूले युक्रेनमा हमला गर्ने योजना रहेको आशंका अधिकारीहरूले व्यक्त गरेका थिए।
मस्कोले भने यी दुबै कुरालाई अस्वीकार गरेको छ। सैनिकहरू अभ्यासको लागि मात्रै युक्रेनी सेनामा पुगेको उसको भनाइ छ।
एउटा सत्य को हो भने युक्रेन र रूसको सीमामा अहिले एउटा गहिरो तनाव छ। यो तनावसँग रूस र युक्रेनको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ।
१४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे। लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर लेखिदिए।
ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए। रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन्।
युक्रेनको उत्तरमा पर्ने बेलारूसमा ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आइपुगेका छन्। रूस र बेलारूसबाट एकैसाथ आक्रमण गरेर युक्रेनी सेनालाई विभाजित गर्ने रणनीतिका साथ बेलारूसमा रूसी सेना पुगेको अनुमान गरिएको छ।
रूससँग सीमा जोडिएको बेलारूस उसको ‘दोस्त’ हो। रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन्। २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए।
बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन्। सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि। सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो। रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ र दिदीबहिनीजस्तै हुन् भन्छन्। युक्रेनी राजधानी केइभ नै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ।
केइभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन। सन् २०१४ मा त्यस्तै भएको थियो।
सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे। देशका विभिन्न ठाउँमा उनको पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण गर्यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो।
रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो। रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो। पछिल्लो समय युक्रेनले युरोपियन युनियन (इयू) को सदस्यता लिने तयारी गरिरहेको छ। सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ।
युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन (नाटो)को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ। युक्रेन पनि नाटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन्। रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ।
युक्रेनलाई तीनतिरबाट आफ्ना सैनिकले घेरेर मस्कोले अहिले कूटनीतिक वार्ताहरूमा यही कुरालाई अघि सारेको छ। केही दिनअघिमात्रै मस्कोले वासिङ्टनलाई पठाएको पत्रमा नाटोले युक्रेनलाई सदस्य बनाउन नहुने माग राखिएको थियो। जुन कुरा अमेरिकाले ठाडै अस्वीकार गरेको छ।
केही दिनअघि इयू र अमेरिकी अधिकारीहरूसँग भएका रूसी अधिकारीका वार्ता असफल भएका छन्। वार्ता असफल भएपछि अब रूसले युक्रेनमा अतिक्रमण गर्ने अनुमानहरू गरिएका छन्। रूसले युक्रेनमाथि कसरी हमला गर्न सक्छ भन्नेचाहिँ यकिन भइसकेको छैन। युक्रेनमाथि हमला गरे पश्चिमा मुलुकहरूले युक्रेनलाई गर्ने सैन्य सहायता, रूसी अधिकारीमाथि लगाउने प्रतिबन्धबारे पुटिन पक्कै जानकार छन्। पश्चिमाहरूसँगको सम्बन्ध मात्रै होइन युक्रेनी सेना पनि २०१४ को भन्दा अहिले बलियो भएको छ। उसले रूसी सेनालाई हराउन त नसक्ला तर उल्लेख क्षति भने गराउन सक्छ।
(द न्युयोर्क टाइम्स, द इकोनोमिस्टलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित।)