कर्णाली प्रदेशको मन्त्रिपरिषद आज विस्तार गर्न लागिएको छ।
मुख्यमन्त्री नियुक्त भएको तीन महिनासम्म पनि पूर्णता नपाएको मन्त्रिपरिषदमा आज मुख्य मन्त्री जीवनबहादुर शाहीले केही मन्त्री नियुक्त गर्न लागेका हुन्।
आजै कर्णालीको मन्त्रिपरिषदले पूर्णता पाउने भनिए पनि नेकपा (एकीकृत समाजवादी) ले आधिकारिक धारणा नपठाएकाले सम्भावना कम देखिएको छ।
मुख्यमन्त्री शाहीले आज बेलुकासम्म मन्त्री नियुक्त गर्नेछन्। यदि समाजवादीले आज मन्त्री बन्नेको नाम नपठाए कांग्रेस र माओवादीबाट दुई/दुई जना मन्त्री नियुक्त हुनेछन्। समाजवादीको भागमा परेको एक मन्त्रालय खाली राखिने छ।
‘आजै मन्त्रिपरिषद विस्तार हुन्छ, समय भने बेलुकासम्म लाग्छ होला,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव राज रोकायाले सेतोपाीटीसँग भने, ‘कसलाई कुन मन्त्रालयमा लिने भन्ने पक्का भईसकेको छैन, समाजवादीको आधिकारिक धारणा पनि आउन बाँकी भएकाले समय लाग्ने हो।’
नेकपा एकीकृत समाजवादीले आज मन्त्रीको नाम पठाउने/नपठाउनेबारे निर्णय गरेको छैन। ‘हामी सायद आज सरकारमा सहभागी हुँदैनौं होला, तै पनि एकीन निर्णय भईसकेको छैन,’ समाजवादीका सांसद पदमबहादुर रोकायाले सेतोपाटीसँग भने।
समाजवादीबाट मन्त्रीका लागि रोकायाकै नाम अगाडि सारिएको छ।
निकट स्रोतका अनुसार समाजवादीका केही नेताहरु शीर्ष नेतृत्वसँग छलफल गर्न काठमाडौं पुगेका छन्। कर्णाली प्रदेश सरकारमा आफूलाई तीन वटा मन्त्रालय लिने व्यवस्था मिलाउन उनीहरु शीर्ष नेतृत्वलाई भेट्न गएका हुन्।
‘केही नेताहरू काठमाडौंमा भेटघाटमा हुनुहुन्छ, सकेसम्म हामीले तीन वटा मन्त्रालय दिन भनेर लविङ गरिरहेका छौं,’ समाजवादीका एक सांसदले भने, ‘सकेसम्म माग पूरा हुन्छ, नभए पनि कुरा मिल्छ।’
कर्णाली प्रदेशका सत्तारूढ दलबीचको भागबण्डा अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित तीन, माओवादीले तीन र समाजवादीले दुई वटा मन्त्रालय पाउने सहमति भएको थियो।
जसअनुसार कांग्रेसबाट हिमबहादुर शाही र यज्ञबहादुर बुढाक्षेत्री, माओवादीबाट गणेशप्रसाद सिंह र कार्चेन लामा र समाजवादीबाट रोकायाको नाम सिफारिस भएको छ।
यसअघि मुख्यमन्त्री शाहीले समाजवादीका प्रदेश सभा दल नेता चन्द्रबहादुर शाही र माओवादीका सांसद विन्दमान विष्टलाई मन्त्री बनाईसकेका छन्। शाहीलाई कृषि र विष्टलाई अर्थ मन्त्री नियुक्त गरिएको छ।
हुम्लाका कार्चेन लामा सांसद छैनन्। उनलाई ६ महिनाका लागि मन्त्री बनाउन माओवादीले नाम पठाएको छ। गैरसांसद लामालाई मन्त्री बनाउन लागिएपछि माओवादीको कर्णाली प्रदेश सभा दलभित्रै अन्तर्विरोध भईरहेको छ।
मुख्यमन्त्री निजी सचिवालयका अनुसार समाजवादीले अब भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय पाउने पक्का भएको छ।