भारतमा अहिले दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई र कियालाई बहिष्कार गर्नुपर्ने माग सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ।
कस्मिर ऐक्यवद्धता दिवसको उपलक्ष्यमा उक्त कम्पनीको पाकिस्तानस्थित कार्यालयले गरेको पोष्टका कारण भारतमा विवाद सुरू भएको बिबिसी हिन्दीले जनाएको छ।
भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ ह्यास ट्याग बोइकट हुन्डाई र बोइकट किया चर्चामा छ। उनीहरूले यस कम्पनीका गाडीसमेत नकिन्ने चेतावनी दिएका छन्। हुन्डाई, किया मोटर्सको पेरेन्ट कम्पनी हो।
कम्पनीको पाकिस्तान कार्यालयले ५ फेब्रुअरीमा कस्मिरसँग सम्बन्धित एक पोष्ट हालेको थियो। उक्त पोष्टले स्वतन्त्र कास्मिरको समर्थन गरेको थियो।
त्यो पोष्ट भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले देखेपछि विवाद सुरू भएको हो। भारतीयहरूले त्यसको विरोध गर्दै बहिष्कार गर्न माग गरेका हुन्।
हुन्डाई इन्डियाले ट्विटरमार्फत् स्पष्टीकरण दिएको छ। यस मुद्दामा पाकिस्तानसँग हुन्डाई इन्डियालाई जोड्नु गलत भएको बताएको छ।
अहिले ती पोष्टहरू हटाइएका छन्। सामाजिक सञ्जालमा तिनका स्क्रिनसटहरू भाइरल छन्।
किया मोटर्स क्रसरोड्स-हैदरावादको अकाउन्टबाट भएको ट्विटमा लेखिएको थियो, ‘हामी स्वतन्त्र कास्मिरको लागि एक साथ उभिएका छौं।’
हुन्डाई पाकिस्तान अफिसियलले लेखेको थियो, ‘आउनुस् कास्मिरी भाइहरूको बलिदानलाई याद गरौं र उनीहरूको साथमा उभिऔं ताकि स्वतन्त्रताको संघर्ष जारी राख्न सकियोस्।’
भारतमा व्यापकआलोचना भएपछि सउलस्थित भारतीय राजदूतावासले हुन्डाईको हेडक्वार्टरसँग स्पष्टीकरणको माग गरेको थियो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले मंगलबार एक विज्ञप्ति जारी गर्दै ती पोष्टहरू हटाइसकेको जानकारी दिएका हुन्।
मन्त्रालयले सोमबार भारतस्थित दक्षिण कोरियाली राजदूतलाई बोलाएर आफ्नो विरोध जनाएको बाग्चीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस विषयमै दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयु-योङले भारतीय विदेशमन्त्री यस जयशंकरलाई फोन गरेका थिए।
जयशंकरले पनि ट्विट गर्दै आफूहरू बीच हुन्डाई लगायतका विषयमा कुराकानी भएको जानकारी दिएका छन्।