दाङका दुई उपमहानगरपालिकामध्ये क्षेत्रफलमा तुलसीपुरभन्दा घोराई ठूलो भए पनि जनसंख्या सात आठ हजार मात्र कमी छ।
सँगै जोडिएका यी उपमहानगरमा सामाजिक सांस्कृतिक भिन्नता धेरै छैन। रूकुम, रोल्पा, प्यूठान, सल्यानजस्ता पहाडी भेगबाट बसाइसरेर आएका धेरै मानिसहरू यहाँ बसोबास गर्छन्। रैथाने थारू समुदायको जनसंख्या पनि ठूलो छ।
गएको चुनावमा तुलसीपुर र घोराई दुवै उपमहानगरको नेतृत्व नेकपा एमालेले जितेको थियो।
तुलसीपुरको प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया शर्मा तथा घोराहीको प्रमुखमा नरूलाल चौधरी र उपप्रमुखमा सीता सिग्देल न्यौपानेले जितेका थिए।
अब अर्को चुनाव नजिकिँदै गर्दा स्थानीयबीच यी दुई उपमहानगरमा के के काम भए भन्ने हिसाब-किताब हुन थालेको छ। हामीले यहाँका बुद्धिजिवी, प्रतिपक्षी दललगायतका स्थानीयसँग कुराकानी गरेका छौं।
फोहोर व्यवस्थापनबाट बायो ग्यास प्लान्ट स्थापना र कृत्रिम जलाशय निर्माण घोराही उपमहानगरले गरेका सबैभन्दा राम्रा काममध्ये हुन्। फोहरबाट बायो ग्यास उत्पादन गर्ने काम स्थानीय तहको निर्वाचन हुनुअघि नै सुरू भएको हो। त्यसलाई निरन्तरता दिएर घोराहीले अन्तिम चरणमा पुर्याएको छ।
कृत्रिम जलाशय निर्माणको काम पनि स्थानीय तहको निर्वाचनअघि नै सुरू भएको हो तर त्यसलाई गुणात्मकरूपमा अघि बढाउने काम स्थानीय सरकारले गर्यो। ठाउँ–ठाउँमा कृत्रिम जलाशय निर्माण गरिएका छन्।
जलाशयले पानी पुनर्भरणमा सहयोग पुगेको छ। वरिपरिका मानिसले माछापालन र व्यावसायिक तरकारी खेती गर्न पाएका छन्। जैविक विविधता संरक्षणमा पनि सहयोग पुगेको छ। सडक निर्माणको क्षेत्रमा पनि घोराहीले राम्रै काम गरेको स्थानीयबासीहरूको भनाइ छ।
महेन्द्र बहुमुखी क्याम्पस, घोराहीका समाजशास्त्र विषयका प्राध्यापक नवराज सुवेदीका अनुसार औसतमा घोराही उपमहानगरले ‘ठिकै’ काम गरेको छ। निर्वाचनको समयमा ‘स्मार्ट सिटी’ बनाउँछु भनेर गरेको बाचा मेयर चौधरीले भुसुक्कै भुलेको प्राध्यापक सुवेदीले टिप्पणी गरे।
घोराहीका बासिन्दा चन्द्रराज पन्त पनि कृत्रिम जलाशय निर्माणलाई उत्कृष्ट काम मान्छन्। ‘सिँचाइका लागि नहर बन्नु, भित्री गाउँसम्म चिटिक्क परेका सडक बन्नु, खेल मैदान बनाउन जग्गा खरिद गर्नु र विद्यालयहरू लागि भौतिक संरचना निर्माण गर्नु स्थानीय सरकारका निकै राम्रा काम हुन्’, पन्तले भने।
नेपाली कांग्रेसको घोराही नगरका सभापति तिलक रावत नगरप्रमुख चौधरीले बाचा गरेका धेरै काम गर्न नसके पनि केही राम्रा काम गरेको बताउँछन्। उनले राम्रा भनेका काम पनि उल्लिखित मध्येकै हुन्।
घोराहीमा सकारात्मकभन्दा नकारात्मक टिप्पणी बढी हुने गरेको छ। नेपाली कांग्रेसका स्थानीय नेताहरू निर्वाचनको समयमा हरित नगर र संग्रहालय निर्माणको कुरा गरे पनि मेयरले वाचा पूरा गर्न नसकेको टिप्पणी गर्छन् । मेयर चौधरी तानाशाही शैलीमा चल्न खोजेको, बिग्रिएर थन्किएका गाडीको नाममा समेत इन्धनको बिल बनाएर संस्थागत भ्रष्टचारमा मलजल कांग्रेस नेताहरूको आरोप छ।
प्राध्यापक सुवेदी घोराहीको स्थानीय सरकारले औसत काम गरेको बताउँछन्। ‘न धेरै राम्रो काम हुन सक्यो र न धेरै खराब भयो,’ उनी भन्छन्, ‘मैले पाँच वर्षको मूल्यांकन गरेर नम्बर दिनुपर्दा औसत नम्बर दिन सक्छु।’
शिक्षा क्षेत्रमा पनि घोराहीमा मेयर चौधरी आलोचित छन्। विद्यालय शिक्षामा गर्न सकिने साधारण सुधारका कामम पनि उनले ध्यान दिन नसेकेको स्थानीयबासीको आरोप छ। यद्यपी विद्यालमा भौतिक निर्माणको केही काम भएको छ।
तुलसीपुर उपमहानगरमा बसपार्कबाट अटोभिलेज पातुखोलामा सार्नु, उपमहानगर कार्यालयको सामुन्नेमा रहेको सब्जीमण्डी जग्गा लिजमा लिएर स्थानान्तरण गर्नु, बसपार्कमा नयाँ संरचनाहरू निर्माण गर्नु, मेट्रो अस्पताल बनाउनुलगायतका केही राम्रा काम भएका छन्।
तुलसीपुरका नागरिक अगुवा टीकाराम रेग्मी तुलसीपुर उपमहानगरमा विद्यालयमा भौतिक सुधार हुनु र केही मात्रामा भए पनि सडकको स्तरोन्नति हुनुलाई सकारात्मक मान्छन्। तुलसीपुर बसपार्कलाई आधुनिक बनाउने गुरूयोजना स्थानीय तहको निर्वाचनअघि नै सुरू भएको भए पनि त्यसलाई निरन्तरता दिएर आधुनिक संरचनाहरू निर्माण गर्नु राम्रो काम मानिएको छ।
निर्वाचनको समयमा मेयर पाण्डेले अघि सारेको ‘तुलसीपुरलाई नेपालकै स्मार्ट सिटी र नमुना सहर’ बनाउने, टरीगाउँ विमानस्थलको धावनमार्ग विस्तार गर्ने तथा ग्वार र पातु खोलामा उच्च बाँध बनाएर खेतबारीमा बाह्रै मास सिँचाइ पुर्याउने नारा दिएका थिए । यी कुनै पनि काम भएनन्। हवाई सेवा भने सुरू भयो।
‘भ्रष्टाचार नियन्त्रणमा कसैले चासो दिएको देखिनँ,’ नगरका अगुवा नागरिक लक्ष्मण रेग्मीले भने, ‘गाउँमा सिंहदरबार आयो भनियो तर सिंहदरबारसँगै त्यहाँको भ्रष्टाचार पनि गाउँ छिर्यो।’ स्थानीय सरकारका रूपमा गर्ने नियमित कामबाहेक गर्व गर्नुपर्ने गरी कुनै पनि काम नभएको उनको भनाइ छ।
जनतालाई सपना बाँडेर पूरा गर्न नसक्नु, कानून र कार्यविधि बनाउन नसक्नुजस्ता अनेक कारणले तुलसीपुरका जनप्रतिनिधिले छामछुम गर्दै पाँच वर्ष बिताएको उनको टिप्पणी छ।
‘तुलसीपुरको वास्तविकता मेयरको भिजनले देखेन,’ कटाक्ष गर्दै प्राध्यापक लक्ष्मण रेग्मी भन्छन्, ‘उहाँ युरोपतिर मेयर हुनुपर्ने मान्छे, नेपालमा हुनुभयो।’ मेट्रो कलेज थापना गर्नु र स्वास्थ्य केन्द्रहरू स्थापना गर्नुलाई आफूले सकारात्मक मानेको रेग्मीले बताए।
मेयर पाण्डे उच्च शिक्षा हासिल गरेका विद्वान मानिन्छन्।
तुलसीपुर–१६, साइपुरकी १९ वर्षीया सृजना चौधरीलाई पनि गर्व गर्न लायक कुनै पनि काम नभएनबताइन्। ‘मेयरका कुरा सुन्दा त सबै राम्रो हुन्छ जस्तो लागेको थियो, तर सबै झुट पो रहेछ,’ उनी भन्छिन्, ‘नेताहरूले गरेको वाचा अनुसार केही पनि काम भएन।’
तुलसीपुर उपमहानगरमा नेपाली कांग्रेसका नगर सभापति सुरेश हमालका अनुसार मेयर पाण्डेले पाँच वर्षमा गरेको राम्रो काम मेट्रो कलेज स्थापना मात्रै हो। कलेजमा गरिबका छोराछोरीले प्राविधिक शिक्षा पढ्न र सिप सिक्न पाएको उनले बताए।
हमालले तुलसीपुरमा जनप्रतिनिधि आएपछि होल्यान्ड कम्पनीका डोजर, टिपर, ट्याक्टर खरिदमा कमिसनको भ्रष्टाचार चलेको आरोप लगाए। हमाल ‘त्रिशिद्धेश्वरी राप्ती यातायात व्यवसायी समिति’ का अध्यक्ष पनि हुन्।
दाङका यी दुवै उपमहानगरका मेयरहरूले औसतभन्दा बढी काम गर्न नसके पनि तुलनात्मकरूपमा घोराहीका मेयर चौधरी तुलसीपुरका मेयर पाण्डेभन्दा कम आलोचित सुनिन्छन्। कामका हिसाबले घोराहीका बासिन्दा बढी सन्तुष्ट देखिन्छन्।