नेपाली कांग्रेसका नेता शेखर कोइरालाले लोकतन्त्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता आवश्यक हुने बताएका छन्।
प्रजातान्त्रिक विचार समाज कास्कीको नवौं अधिवेशन तथा आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास विषयक गोष्ठीमा उनले सुशासन, पारदर्शिता र जावफदेहिता लोकतन्त्रका आधारभूत सर्त भएको बताए।
आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास एक अर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उनले समृद्धिका लागि आर्थिक सुशासनसँगै उत्पादन बढाउनेतर्फ लक्षित हुनुपर्नेमा जोड दिए।
देशको क्रय शक्तिले धान्ने अवस्था नरहेको उल्लेख गर्दै उनले १८ खर्ब रुपैयाँको व्यापार घाटा गम्भीर विषय भएको बताए।
सरकार सञ्चालन र निर्वाचनको तालमेल फरक विषय भएको बताउँदै उनले तालमेलसँग जोडिएका धेरै विषय र त्यसले आगामी दिनमा पार्टी संगठनमा पार्ने प्रभावलगायत विषयमा गम्भीर समीक्षा गरेर बढ्नुपर्ने आवश्यकता औंल्याए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जनताका मुद्दालाई सम्बोधन गर्ने गरी कांग्रेस लाग्नुपर्ने जनाउँदै प्रजातान्त्रिक विचार समाजले पार्टीले लिनुपर्ने नीति, विचार लगायतमा बहस र छलफल गराउनुपर्ने बताए।