नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई वर्ष पहिले नै निर्माण भइ सञ्चालन हुँदै आएको तुलसीपुर सब्जिमण्डीको उद्घाटन गरेका छन्।
मंगलबार तुलसीपुर-६ स्थित मावि सेन्टर भवन र तरकारी तथा फलफूल बजारको संयुक्त रूपमा पोखरेलले उद्घाटन गरेका हुन्।
पहिले तुलसीपुर उपमहानगरको सम्मुखमा रहेको सब्जिमण्डी स्थान्तरण गरि मावि सेन्टरको जग्गामा निर्माण गरिएको छ।
तरकारी तथा फलफूल बजार निर्माण कार्य २०७६ साल मंसिर ८ गते पुरा भएको थियो। त्यसयता त्यहाँ तरकारी तथा फलफूलका ब्यापार हुँदै आएको छ।
२०७५ साल असार २१ गतेदेखि बजार निर्माणको काम सुरु भएको थियो।
करिब दुई करोड ३५ लाखमा निर्मित तरकारी तथा फलफूल बजार निजी सरकारी साझेदारीमा निर्माण भएको हो। जसमा ब्यवसायीको एक करोड ३३ लाख र सरकारको एक करोड २४ लाख बढी लगानी छ।
तरकारी तथा फलफूल कृषि बजार ब्यवस्थापन समितिका सचिव झुपलाल खड्काले ३८ सटरमध्ये १७ वटामा तरकारी, १९ वटामा फलफूल, एउटा सटर कार्यालय प्रयोजन र अर्को एउटा सटरमा चमेना गृह सञ्चालन हुँदै आएको कार्यक्रममा जानकारी दिए।
तरकारीको ब्यापार दैनिक साढे तीन लाख र फलफूलको पाँच लाखसमेत गरि दैनिक आठ लाख बराबरको कारोबार भइरहेको खड्काले बताए।
उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले अलपत्र अवस्थामा पुगेको तुलसीपुर–घोराही साढे २८ किलोमिटर चार लेन सडक निर्माणमा तुलसीपुर मेयर घनश्याम पाण्डे र उनका छोराको बचाउ गरे।
जुन सडक निर्माणको जिम्मा सुरूमा पेटी ठेकेदारका रुपमा मेयरका छोरा अनुप पाण्डेले लिएका थिए। सोही सडक निर्माणको काममा झन्डै ६ करोड जति ठगी गरेको भन्दै बिभिन्न ब्यक्तिले प्रहरी प्रशासनमा पाण्डे बिरुद्ध मुद्दा दायर गरेका छन्।
पछिल्लो समय एमाले जिल्ला कमिटी सदस्य तथा घोराही उपमहानगरका इञ्चार्ज गेहेन्द्र बस्नेतले १ करोड ४४ लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि अनुपलाई प्रहरीले पक्राउ गर्नुका साथै दुई हप्ता थुनामा राखेको थियो।
जसले नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मेयर पाण्डे र उनका छोरा अनुपको मात्रै हैन एमालेको समेत ब्यापक आलोचना भइरहेको छ।
त्यसैको प्रतिरक्षाका लागि महासचिव पोखरेलले मेयर घनश्याम पाण्डेका छोरा अनुपले ठेक्का लिएको नभइ सहजीकरणको भूमिका मात्रै निर्वाह गरेको भन्दै एमालेले चार लेन बनाउन दिएन भन्नु गलत भएको बताए।
‘अहिले उहाँले सहजीकरणको जिम्मेवारी पनि छोडिसक्नुभएको छ’, पोखरेलले भने, ‘अब अनुप पाण्डेसँग चार लेन सडक निर्माणको कुनै सम्बिधत रहेको छैन।’
तुलसीपुर–घोराही चार लेन सडक निर्माणको जिम्मा केन्द्र सरकारको भएको भन्दै उनले छिटोभन्दा छिटो सडक निर्माणको काम पुरा गर्न माग गरे।
चार लेनमा धुलो उडाउनेको नैतिक जिम्मा सरकारले लिनुपर्ने उनले तर्क गरे। त्यस्तै यदि निर्माणको जिम्मा लिएको ठेकेदारले काम गर्दैन भने ठेक्का रद्द गरे पनि एमालेलाई कुनै आपत्ति नहुने महासचिव पोखरेलले बताए।
‘आफूले काम नगर्ने दोष जति नेकपा एमालेलाई लगाउने तर केन्द्र सरकारमा आफूले हालीमुहाली गर्ने,’ पोखरेलले प्रश्न गरे‘ ‘जसले काम गर्ने हो त्यसले नगर्ने र त्यसको आरोप अर्कालाई लगाउन मिल्छ?’
चार लेन सडकमा जस्तै एमाले महासचिव पोखरेलले टरिगाउँ एयरपोर्टको विकास तथा विस्तारको बारेमा नेपाली कांग्रेसले राजनीति गरिरहेको दोषारोपण गरे।
तुलसीपुर एयरपोर्टको विस्तार र विकासको योजना पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीको पालाका आएको दाबी गरे।
केपी ओलीको सरकार हटिसकेपछि एयरपोर्टको निरीक्षण गर्न काठमाडौंबाट प्राविधिक टोली आएको र त्यतिखेर नेपाली कांग्रेसका नेताहरु लाम लागेर एयरपोर्ट देखाउन गए पनि उनीहरुले केही नगर्दा एयरपोर्टको दुर्दशा भएको महासचिव पोखरेलले बताए।
त्यतिखेर प्राबिधिकहरुको रिपोर्टले तुलसीपुरमा ठूलो विमानस्थल बनाउन सम्भवव नभएको भनेर रिपोर्ट तयार पारेको हुँदा कांग्रेसले नै तुलसीपुरमा एयरपोर्ट बनाउन नचाहेको उनले आरोप लगाए।
तै पनि आफूहरूले घाँस उम्रिएको एयरपोर्टलाई जहाज चल्ने एयरपोर्टको रुपमा परिणत गरेको पोखरेलले दाबी गरे।
त्यस्तै उनले अहिले भइरहेको इन्धन डिपो स्थापनाको काम आफ्नै पहलमा भएको उनले जिकिर गरे।
महासचिव पोखरेलले टरिगाउँ एयरपोर्ट विस्तार र विकासको सवालमा एमाले बाधक नरहेको जानकारी दिए। तर, दाङको समग्र विकासका सन्दर्भमा भविश्यका लागि ठूला विमान अवतरण गर्ने खालको एयरपोर्ट आवश्यक पर्ने हुँदा नारायणपुरमा विमानस्थल बन्न आवश्यक रहेको उनले चर्चा गरे।
गत निर्वाचनमा आफ्नै नगर तुलसीपुर क्षेत्र निर्वाचन क्षेत्र नं. ३ छोडेर गत प्रदेश सभा निर्वाचनमा पोखरेल माओवादीसँगको तालमेलपछि घोराही क्षेत्र निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्दा घोराही–१० मा अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट निर्माणको कुरा पोखरेल र कृष्णबहादुर महाराको मुख्य चुनाबी नारा थियो।
त्यस्तै महासचिव पोखरेलले आफ्नो पालामा जिल्लामा दर्जनौं पुल, पानी भण्डारण्का लागि जलासय, राप्ती राजमार्गको स्तरउन्नती र दाङ सुर्खेत सडक खण्ड जस्ता थुपै सडक निर्माण भएको चर्चा गरेका थिए।