प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा दाङमा एक्लै भिड्ने तयारी गरेको छ।
एमाले जिल्ला कमिटी अध्यक्ष हुकुमबहादुर बस्नेतले दाङमा एमालेको कसैसँग तालमेल नहुने र एक्लै मैदानमा उत्रने जानकारी दिएका हुन्।
बस्नेतले घोराहीमा भने अहिलेका मेयर नरुलाल चौधरीलाई नै फेरि दोहोर्याउने तयारी भइरहेको बताए।
‘तुलसीपुरका मेयर घनश्याम पाण्डेले म फेरि दोहोरिदिनँ भन्नुभयो, तर, घोराहीमा नरुलालजीले फेरि एक पटक दोहोरिने चाहना व्यक्त गर्नु भएको छ,’ अध्यक्ष बस्नेतले भने, ‘एमालेको पोलिटब्युरो सदस्य चौधरीले फेरि मेयरमा दोहोरिने चाहना गरेपछि त्यसलाई पार्टीले पनि सकारात्मक रूपमा लिएको छ।’
घोराहीमा कृतिम जलासय निर्माण, फोहोर व्यवस्थापन लगायतको क्षेत्रमा चौधरीले राम्रै काम गरेको भन्दै चर्चा भइरहेको छ।
तर, जिल्ला पार्टी कमिटीले तीन जनाको नाम सिफारिस गर्न आग्रह गरेको अध्यक्ष बस्नेतले बताए।
औपचारिकताको लागि तीन जनाको नाम सिफारिस गर्न भनिए पनि मेयर चौधरीको हकमा सर्वसम्मत निर्णय हुन सक्ने अध्यक्ष बस्नेतले संकेत गरे।
२०७४ सालको निर्वाचनमा एमालेका नरुलालले २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए।
उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए।
घोराहीमा अहिले पनि कांग्रेस र माओवादीबाट डाँगी र गौतमकै नाम मेयरका लागि चर्चामा छ। यद्यपि पछिल्लो समय संविधान सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष राजु खनालको चर्चा पनि सुरू भएको छ।
त्यस्तै, २०७४ सालको स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेका घनश्याम पाण्डे २२ हजार ८५७ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०७ मत र माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६९३ मत मात्रै प्राप्त गरेका थिए।
तर, तुलसीपुरमा यतिखेर मेयर पाण्डेको बारेमा नकारात्मक टीकाटिप्पणी बढी भइरहेका छन्।
आफ्नो चुनावी घोषणा पत्रमा तुलसीपुरलाई नेपालकै नमूना र स्मार्ट सिटी निर्माण गर्ने, टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तार गरी ठूला जहाज अवतरण गराउन भूमिका खेल्ने जस्ता महत्वकांक्षी योजना अघि सारे पनि त्यो अनुरूप काम नभएपछि पाण्डे फेरि दोहोरिन नचाहेको एमालेकै कतिपय नेताहरू टिप्पणी गर्छन्।
त्यस्तै, तुलसीपुर–घोराही चार लेन सडकमा पेटी ठेकेदारका रूपमा काम गरेका मेयर पाण्डेका छोरा अनुप पाण्डे ठगी मुद्दामा १४ दिन थुनापछि हालसालै छुटेको हुँदा पनि मेयर पाण्डेको आलोचना भइरहेको छ।
धेरैको बुझाइमा त्यही भएकाले केन्द्रीय सदस्य मेयर पाण्डे चुनावमा पराजित हुने त्रासकै कारण फेरि दोहोरिन नचाहेका हुन् भन्ने मत छ।
तुलसीपुर उपमहानगरपालिकामा यतिखेर एमालेबाट मेयरका रूपमा सबभन्दा बढी चर्चामा रहेको नाम टीकाराम खड्काको हो। उनी यसअघि नेकपा एमाले दाङका जिल्ला कमिटी अध्यक्ष थिए।
तुलसीपुरमा नेपाली कांग्रेसबाट एक दर्जन बढी आकांक्षी देखिएका छन्। ती सबै नयाँ अनुहार हुन्। युवातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा व्यवसायी बिमल रिजाल, तुलसीपुर नगरसभापति सुरेश हमाल, नहकुल केसी, गोबिन्द शाह, जनकप्रसाद खराल, एकराज आचार्यले आ–आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्।
त्यस्तै, अग्रज नेताहरूमध्ये यसअघिका जिल्ला सभापति कीर्तिबहादुर खड्का, त्यसअघिका जिल्ला सभापति घनश्याम रेग्मी, दाङ क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्का लगाएतले दाबी प्रस्तुत गर्दै आएका छन्। सत्तासिन अन्य दलहरू माओवादी, एकीकृत समाजवादीबाट मेयरमा खासै कसैको पनि दाबी सुनिएको छैन। गठबन्धनबाट उम्मेदवारी बनाइए माओवादीका यज्ञबहादुर केसीको उपमेयरमा सम्भावना हुन सक्छ ।
त्यस्तै, जिल्लाको लमही नगरपालिकाको हकमा भने अझै यकिन भइनसकेको एमाले जिल्ला अध्यक्ष बस्नेतले बताए।
२०७४ सालमा लमही नगरपालिकामा पनि गत स्थानीय निर्वाचनमा एमालेका कुलबहादुर केसी निर्वाचित भएका थिए।
केसीले ५१५२ मत प्राप्त गरेका थिए। त्यस्तै, कांग्रेसका उम्मेदवार जोगराज चौधरी ५०६९, माओवादी उम्मेदवार द्रोपदा पौडेल ४०८१ मत प्राप्त गरेका थिए।
‘लमहीमा कसलाई दिने भन्नेबारे अझै यकिन भइसकेको छैन। पुरानैलाई दिने कि नयाँ खोज्ने भन्नेबारे बहस जारी छ,’ जिल्ला अध्यक्ष बस्नेतले भने, ‘भोलिसम्म जिल्ला कमिटीमा तीन जनाको नाम सिफारिस भएर आउँछ अनि हामी त्यो प्रदेशमा पठाउँछौं र केन्द्रले मात्रै मेयरको छिनोफानो गर्नेछ।’
तर, उनले तीन जनाभन्दा बढीको नाम केन्द्रमा सिफारिस गरी नपठाउने जानकारी दिए। एमालेबाट यतिखेर फेरि मेयर केसी, नारायण डाँगी (छर्पाली), रतनकुमार केसीको नाम चर्चामा छ।
नेपाली कांग्रेसबाट जोगराज चौधरी, मोहन गिरी, कर्णबहादुर बुढाथोकी लगाएत दर्जन बढी आकांक्षी छन्। त्यस्तै, माओवादीमा वसन्त राज शर्मा (विक्रान्त), द्रोपडा पौडेल लगाएको चर्चा छ।त्यस्तै, जसपाबाट किशोर कुमार घर्ती र नेकपा एकीकृत समाजवादीबाट गणेश चौधरीको नाम चर्चामा छ।
‘वडाध्यक्ष र सदस्यको आज हामीलाई सिफारिस आउँछ,’ बस्नेतले भने, ‘पाँच जना जिल्ला कमिटीका पदाधिकारी बसेर वडाका उम्मेदवारको टुंगो २९ गतेभित्रै लगाउँछौं।’
अध्यक्ष बस्नेतले दाङमा एमाले कसैसँग तालमेल नगरी एक्लै मैदानमा उत्रने स्पष्ट पारे।
‘हामीले सत्तासिन दलहरूको गठबन्धन भएरै आओस् भन्ने कामना गरिरहेका छौं,’ बस्नेतले भने, ‘जनताको काम गरेका रहेछौं भने एमाले आउँछ र काम गरेका रहेनछौ भने फेरि जनताको बीचमा जान्छौं र अर्कौ पटक अवश्य जित्ने छौं।’
केन्द्रमा गठबन्धनले जे निर्णय गर्छ, दाङ त्यही अनुरूप चल्छ: कांग्रेस सभापति डाँगी
आइतबार घोराहीमा पाँच दलीय गठबन्धनको बैठक बसेको छ।
बैठकले चुनावी प्रतिवेदन तयार पारी केन्द्रमा पठाएको छ। जसमा गठबन्धन अनुसार साझा उम्मेदवार खडा गर्न सके जिल्लाका दसै पालिका र सबै एक सय वडाहरूमा जित्ने दाबीका साथ प्रतिवेदन तयार पारिएको छ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुवास पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको संयुक्त बैठकले केन्द्रमा त्यस्तो प्रतिवेदन पठाएको हो।
केन्द्रीय संयन्त्रले मागे अनुसार संयुक्त रूपमा छलफल गरी संयुक्त रूपमा यथार्थ वस्तुस्थितिको विवरण पठाइएको कांग्रेस जिल्ला सभापति डाँगीले जानकारी दिए।
‘उम्मेदवारको हकमा केन्द्रमा पाँच दलीय गठबन्धनको रणनीति बनेपछि मात्रै दाङमा पनि त्यही अनुरूप हुन्छ,’ उनले भने,‘अहिले हामीले उम्मेदवारको हकमा को कहाँ भनेर केही बोल्न मिल्दैन।’
उनले दाङ कांग्रेसको उर्वर भूमि भएको दाबी गर्दै एक्लै उभिए पनि जित्ने ठाउँमा गठबन्धन भए जिल्ला क्लिन स्वीप हुने दाबी गरे।
‘त्यसमा त कुनै पनि शंका गर्ने ठाउँ कहाँनेर रहन्छ?,’ उनले प्रश्न गरे, ‘कांग्रेस एक्लै जित्ने ठाउँमा पाँच शक्तिसँगै उभिए क्लिन स्वीप हुन्न त ?’
दाङ एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, नेपाली कांग्रेसका नेता दीपक गिरी लगायतका चर्चित अनुहारहरूको जिल्ला भएको हुँदा पनि चुनावी सरगर्मी व्यापक रूपमा बढी रहेको छ।