पश्चिम नेपालको एक प्रमुख व्यापारिक सहर नेपालगञ्जको मेयर आफ्नो पोल्टामा पार्न दलहरू 'रणनीतिक दाउपेच'मा लागेका छन्।
पाँच दलीय गठबन्धनले केन्द्रको निर्णय कुरिरहेको छ। तर, पनि फरक/फरक दलबाट आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गर्दै भोट माग्न थालिसकेका छन्।
नेकपा एमाले लगायतका दलहरू गठबन्धनले कस्तो उम्मेदवार पठाउँछ ? भनेर प्रतीक्षारत छन्।
पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको गृह जिल्ला भएका कारण नेपालगञ्जमा कांग्रेस मेयरको दाबी नछोड्ने अडानमा छ।
नेपाली कांग्रेसबाट नेपालगञ्जमा २०७४ सालको निर्वाचनमा मेयरमा पराजित सुरेश कुमार कनोडिया, अहिलेकी उपमेयर उमा थापा मगर र नगर सभापति प्रशान्त विष्टले आफूलाई उम्मेदवारको रूपमा प्रस्तुत गर्दै भोट माग्न थालिसकेका छन्।
यीबाहेक व्यापारिक पृष्ठभूमिका नेताहरू अच्युत प्रसाईं र ललित रौनियारले पनि दाबेदारी प्रस्तुत गर्दै आएका छन्।
त्यस्तै, लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल, महासमिति सदस्यहरू निरञ्जनसिंह सिजापति र राजकुमार बर्मा लगायतका नेताको पनि मेयरमा उठ्ने चर्चा छ। तर, उनीहरूले आफूलाई अहिलेसम्म मेयरको रूपमा प्रस्तुत भने गरेका छैनन्।
सत्ता गठबन्धन भित्रकै नेकपा माओवादी केन्द्रबाट व्यापारिक पृष्ठभूमिका नेताहरू नन्दलाल वैश्य, आदेश अग्रवाल र नवीन शर्माको नाम चर्चामा छ।
त्यस्तै, जनता समाजवादी पार्टीका बाँके जिल्ला अध्यक्ष कमरुद्धिन राई पनि मेयरमा दाबी प्रस्तुत गर्दै आएका छन्। राई २०७४ सालको स्थानीय तहको निर्वाचनका क्रममा पनि मेयरमा लडेर पराजित भएका थिए।
नेकपा एकीकृत समाजवादीबाट २०७४ सालमै एमालेबाट मेयर लडेका समसुद्धिन सिद्धिकीको चर्चा छ।
सिद्धिकी उनी नेपालगञ्जको पूर्व उपमेयर पनि हुन्। त्यस्तै, नेकपा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रको नाममा सर्वसम्मत बनाउने कसरतमा छ।
नेकपा एमाले बाँके जिल्ला कमिटीका सचिव रत्न खत्रीले मिश्रलाई पार्टीको तर्फबाट मेयरमा एकल उम्मेदवारको रूपमा प्रस्तुत गरिने बताए।
मंगलबारसम्म मेयर लगायत वडाहरूको टुंगो लगाइसक्ने उनले जानकारी दिए।
उनले भने, ‘अरूको पनि आकांक्षा होला, तर यसपालि हाम्रो एकल तथा निर्विकल्प उम्मेदवार मिश्रजी नै हो।’
मिश्र २०७४ सालको संसदीय निर्वाचनमा हृदयेश त्रिपाठी निकट रहे पनि स्वतन्त्र रूपमा सूर्य चुनाव चिन्ह लिएर मेयरमा भिडेका थिए। उनी उतिखेर झन्डै दुई हजार मतान्तरले पराजित भएका थिए। मिश्र गत मंसिरमा मात्रै एमालेमा पार्टी प्रवेश गरेका थिए।
सचिव खत्रीले एमालेले बाँकेमा कसैसँग पनि चुनावी तालमेल नगर्ने जानकारी दिए।
‘कसैले हामीलाई व्यक्तिगत वा संस्थागत रूपमा सघाउँछ भने त्यो स्वागत योग्य कुरा हो,’ उनले थपे, ‘नत्र हाम्रो अहिलेसम्म बाँकेमा एक्लै भिड्ने भन्ने नै छ।’
एमाले एक्लै भिडे पनि बाँकेका आठ पालिकामध्ये ६ पालिकामा जित्ने निश्चित जस्तै रहेको दाबी उनले गरे।
नेपालगंज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, जानकी र डुडुवा गाउँपालिकामा एमालेको जित निश्चित रहेको उनले जिकिर गरे। तर, राप्ती सोनारी गाउँपालिका र नरैनापुरमा भने कडा प्रतिष्पर्धा हुने उनले अनुमान गरे।
चुनावी रणनीति राम्रो बनाउन सके ती दुई स्थामा पनि जित सहज हुन सक्ने उनले बताए।
सत्तासिन दलहरूको गठबन्धन नभए यसपालि एमालेले बाँकेका आठका आठ पालिका जित्ने उनको दाबी थियो।
‘गठबन्धन हाम्रा लागि नौलो कुरा होइन,’ खत्रीले अगाडि भने, ‘२०७४ सालको निर्वाचनको अभिमत भन्दा अहिले झनै अभिमत वृद्धि भएको छ।’
पछिल्लो समय जिल्लामा एमालेप्रतिको आकर्षण झनै बढेको हुँदा आफूहरूको जित्ने आधार त्यही हुने खत्रीले तर्क गरे।
एमाले उत्साहित हुनु पछाडिको अर्को प्रमुख कारण नेपालगञ्जका मेयर तथा राप्रपाका महामन्त्री धवल शमसेर राणा पनि हुन्। जसले फेरि आफू मेयरमा उम्मेदवार नबन्ने मात्रै घोषणा गरेका छैनन् एमालेलाई स्थानीय तहमा सघाउन सक्ने आश्वासन पनि दिएका छन्।
स्रोतका अनुसार राप्रपाले एमालेलाई मेयरमा सघाउने र संसदीय निर्वाचनमा एमालेले राप्रपालाई सघाउने गरी आन्तरिक छलफल हुँदै आएका छन्।
यीबाहेक बाँकेमा राप्रपाबाट निर्वाचित वडा नम्बर ४ का वडा अध्यक्ष मो.सफिक बेहनाले मेयरको आकांक्षीको रूपमा आफूलाई प्रस्तुत गरिसकेका छन्।
नेपालगंजमा कमल थापा नेतृत्वको राप्रपा नेपाल, अन्य केही मधेश केन्द्रित दल र व्यक्ति विशेषले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने बताउँदै आएका छन्।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बुधबार मात्रै पाँच दलीय गठबन्धनको छलफल हुने जानकारी दिए।
‘हामी केन्द्रलाई कुरेर बसेका छौं,’ उनले भने, ‘गठबन्धनबाट को उम्मेदवार हुन्छ भन्ने अहिल्यै यकिन गर्न सजिलो कुरा होइन।’
तर, उनले स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारले जित्ने गरी गठबन्धन भन्दा पनि पाँच दलका बीचमा चुनावी तालमेल हुने तर्क गरे।
नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले खजुरा गाउँपालिका केही कमजोर रहेको मूल्याङ्कन गरे पनि अरू सबै पालिकाहरूमा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरे। नेपालगंज, कोहलपुर, नरैनापुर, राप्ती लगायतका सबै पालिकामा कांग्रेसको जित निश्चित रहेको जिल्ला प्रवक्ता गिरीले बताए।
रोल्पा, रुकुम, दाङ लगायतका क्षेत्रबाट विस्थापित भई आएका तथा झरेका सर्वसाधारण नागरिकले गठबन्धन गर्नु हुन्न भने पनि केन्द्रीय नीति अनुरूप चुनावी तालमेल गरेमा बाँकेका सबै स्थान गठबन्धनले जित्ने गिरीले दाबी गरे।
‘केन्द्रमा जस्तै बाँकेमा पनि सत्ता साझेदार दलहरूका बीचमा गठबन्धन निर्माण भएमा एमालेले एउटा पालिका पनि जित्दैन,’ कांग्रेस प्रवक्ता गिरीले प्रश्न गरे, ‘कांग्रेस एक्लैले जित्न सक्ने ठाउँमा पाँच दल मिलेर गए, एमाले कसरी आउँछ?’
सत्ता गठबन्धनले सकभर मंगलबार र त्यो सम्भव नभए बुधबारसम्म उम्मेदवार टुंगो लगाउन प्रयास गरिने कांग्रेस प्रवक्ता गिरीले जानकारी दिए।