दाङको तुलसीपुर उपमहानगरपालिकाले बुधबार ३० औं स्थापना दिवस मनाएको छ।
पूर्वमेयर तथा नेकपा एमालेका नेता ढुण्डीराज लामिछानेले केक काटेर दिवसको सुरूआत गरेका हुन्।
प्रमुख अतिथि लामिछानेले आफ्नो मन्तव्यको क्रममा सबैलाई निम्ता गरिएको भए पनि कोही नआएकोप्रति दुःख व्यक्त गरेका थिए।
‘नगरको स्थापना दिवसमा बोलाउँदा समेत नआउने हो भने कसरी नगरको विकास हुन्छ,’ उनले भनेका थिए, ‘यस्तै मनस्थिति कायमै रहे तुलसीपुरको विकास कसरी होला?’
कार्यक्रममा तुलसीपुरको मेयरको आकांक्षीका रूपमा प्रस्तुत गरिएको एमाले दाङका यसअघिका अध्यक्ष टीकाराम खड्काबाहेक अन्य कुनै पनि राजनीतिक दलका नेताहरूको उपस्थिति थिएन। एमाले बाहेकका जनप्रतिनिधि समेत कार्यक्रममा अनुपस्थित रहेको हुँदा कार्यक्रम खल्लो र निरश बन्न पुगेको थियो।
कार्यक्रमका लागि अघिल्लो दिन नै सबैलाई निम्ता गरिएको थियो।
नेपाली कांग्रेसका एक जना नेताले काम केही नगर्ने र गफमात्रै दिने ठाउँमा जान मन नलागेको प्रतिक्रिया दिए।
‘स्मार्ट सिटीको कुरा गरी नथाक्ने स्मार्ट मेयरका बकमफुसे कुरा सुन्दा सुन्दा दिक्क लाग्छ,’ उनले भने, ‘केही नगर्ने तर एनजिओको शैलीमा योजनामात्रै प्रस्तुत गर्ने कार्यक्रममा निम्ता आए पनि जान मनले मानेन।’
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मेयर घनश्याम पाण्डेले जिल्लाका दश पालिकामध्ये बितेको पाँच वर्षमा तुलसीपुरमा सबभन्दा नमूना योग्य काम भएको दाबी प्रस्तुत गरे।
मेट्रो कलेज, मेट्रो हस्पिटल, आधुनिक बसपार्क, नमूना अटो भिलेज, फलफूल तथा तरकारी बजार लगायतका कुराहरू पाँच वर्षमा आफूले गरेका नमूना काम रहेको भन्दै उनले त्यसको सिको आज देशभर भइरहेको व्याख्या गरे।
‘हाम्रो सिको देशभर भइरहेको छ,’ उनले भनेका थिए, ‘तुलसीपुरको जस्तै मेट्रो कलेज, मेट्रो हस्पिटल स्थापनादेखि आधुनिक बसपार्क र तरकारी तथा फलफूल बनाउने लहर देशभर चलेको छ।’
पाण्डेले मातृशिशु सुरक्षा कार्यक्रम,अन्धोपन निवारणका लागि उज्यालो तुलसीपुर अभियान, विकट वडामा एम्बुलेन्स सञ्चालन, खरको छानो विस्थापन, एक वडा एक खेल मैदान, सामुदायिक विद्यालय सुधार कार्यक्रम, स्मार्ट छोरी कार्यक्रम, न्यानो कपडा वितरण, लगायतका कामहरू प्रदेश र संघ सरकारका लागि समेत सिकाइको माध्यम भएको दाबी गरे।
उपमहानगरपालिकाको सेवालाई अनलाइन पद्धतिमा रूपान्तरण गर्दै विकासलाई समावेशी ढगंले अघि बढाएको, लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थललाई नियमित सञ्चालनमा ल्याएको चर्चा गरे।
कार्यक्रममा कार्यपालिका सदस्य चित्रा मल्ल, वडा नं. ६ का अध्यक्ष नवराज लामिछाने, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य टीकाराम खड्का, दिदीघर संस्थाका स्यानी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
खानेपानी र सिँचाइका लागि स्थानीय खोलाहरूमा हाइड्याम निर्माण गरी बाह्रै मास सिँचाइ सुविधा पुर्याउने, टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार गरी ठूला विमान अवतरण गर्न सक्ने बनाउने, तुलसीपुरमा रिङरोड निर्माण गर्ने कुराहरू हरेक दलले निर्वाचनका क्रममा भोट माग्ने माध्यम बनाए पनि ती कुनै पनि कामहरू हुने सकेका छैनन्।
यो बीचमा तुलसीपुर-घोराही सडक खण्ड चारलेन बनाउने जिम्मा मेयरका छोरा अनुप पाण्डेले लिएर अलपत्र अवस्थामा रहेपछि व्यापक आलोचना हुँदै आएको छ।
मेयरका छोरा पाण्डे एमालेकै व्यापारी तथा नेताहरूले दिएको ठगी मुद्दामा १४ दिनसम्म प्रहरी थुनामा परेर हालसालै छुटेका हुन्।