नेपाली कांग्रेसले दाङका जुम्ल्याहा उपमहानगरपालिकमा पुरानै अनुहारलाई फेरि मेयर उम्मेदवार बनाउने सम्भावना देखिएको छ।
२०७४ सालको चुनावमा पराजित व्यक्तिलाई नै तुलसीपुर र घोराही उपमहानगरपालिकामा फेरि उम्मेदवार बनाउने गरी नाम सिफारिस गरिएको छ।
तुलसीपुरमा मेयरका लागि कांग्रेसले १९ जनाको नाम सिफारिस गरिएको छ। अन्तिममा आएर गत स्थानीय तहको निर्वाचनमा पराजित कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पनि आकांक्षा व्यक्त गरेपछि उनको नाम एक नम्बरमा राखेर सिफारिस गरिएको तुलसीपुरका नगर सभापति सुरेश हमालले जानकारी दिए।
गिरीले फेरि मेयरको उम्मेदवार नबन्ने बताउँदै आएको भए पनि अन्तिममा उनले पनि आकांक्षा व्यक्त गरेपछि नाम पुनः थपेर पठाउनु परेको सभापति हमालले बताए।
‘सिनियर नेताले मेरो पनि नाम सिफारिस गरिदेऊ भनेपछि उहाँको पनि नाम अन्तिममा फेरि समावेश गरी सिफारिस गरेर जिल्लामा पठाइएको हो,’ हमालले भने,‘गेहेन्द्र दाइ आफैं उठ्छु भनेपछि अब अरूको सम्भावना कमजोर भएको मान्न सकिन्छ।’
गिरीले फेरि मेयर उठ्ने आशय व्यक्त गरेपछि अरू आकांक्षी चुपचापको अवस्थामा छन्।
पाँच दलीय गठबन्धनका कारण निर्वाचन जितिने सम्भवना लगभग निश्चितजस्तै बनेको हुँदा फेरि नेता गिरी उम्मेदवार बन्न खोजेको जानकारहरू बताउँछन्।
‘उहाँले म फेरि मेयरको उम्मेदवार बन्दिनँ भन्दै हामीलाई अगाडि बढ्न सल्लाह दिनुभएको थियो,’ कांग्रेसबाट मेयरका आकांक्षी एक जना नेताले भने, ‘उहाँ फेरि अन्तिममा आफैं उम्मेदवार बन्न खोज्नुले म आश्चर्यमा परेको छु।’
गिरीले भने मेयरको उम्मेदवार बन्ने आफ्नो इच्छा नभए पनि तलका कार्यकर्तादेखि माथिका नेताले समेत आग्रह गरेको बताए।
‘सबैले तँ उम्मेदवार बनेपछि पार्टीमा किचलो हुँदैन र भोलिका लागि पनि व्यवस्थापन गर्न सहज हुन्छ भन्न थालेपछि उम्मेदवारी बन्ने परिस्थिति सिर्जना भएको हो,’ गिरीले भने,‘म राजनीति गर्ने व्यक्ति भएको हुँदा सबैको सल्लाह आत्मसात् गर्नु जरूरी हुन्छ।’
नगर सभापति हमालका अनुसार वैशाख २ गते सिफारिस गरिएका १९ मध्ये गिरी, पूर्वपार्टी सभापति घनश्याम रेग्मी, यसअघिका पार्टी सभापति कीर्तिबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, नगर सभापति सुरेश हमाल, महाधिवेशन प्रतिनिधि विमल रिजालको नाम क्रमश: राखिएको छ।
त्यस्तै तुलसीपुर-७ का वडाध्यक्ष टोपबहादुर केसी, कृष्ण गिरी, नहकुल केसी, डिल्लीबहादुर बस्नेत, किरण शाह, सुरेन्द्र गिरी, जनकप्रशाद खराल, सुष्मा गिरी, चूर्ण चौधरीसँगै नयाँ शक्ति पार्टीबाट आएका नेत्रलाल भट्टराई (नारायण) को नाम रहेको छ।
उपमेयरमा गत स्थानीय निर्वाचनमा पराजित देवकी नेपाली, देवा डाँगी, पवित्रा शर्मा, चित्रा गिरी, यमुना शाह, पवित्रा रिजाल र रामचन्द्र आरसीको नाम सिफारिस गरिएको छ।
तुलसीपुरमा नेकपा एमालेबाट यसअघिका जिल्ला अध्यक्ष टीकाराम खड्काको नाम सबैभन्दा बढी चर्चामा छ। उनको नाम पहिलो नम्बरमा सिफारिस भएको छ।
जिल्ला कमिटी सचिव मनोहर बुढाथोकी, सहसचिव कृष्ण भुसाल, तुलसीपुर-६ का वडाध्यक्ष नवराज लामिछाने र उपमेयर माया शर्माको नाम एमालेबाट मेयरका लागि सिफारिस गरिएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए।
उपमेयरमा ‘दिदी घर’ संस्थाकी श्यानी चौधरी, युवा करारा, रेखा शर्माको नाम सिफारिस भएको छ।
नेपाली कांग्रेसबाट घोराहीमा मेयरका रूपमा एकजना भुपबहादुर डाँगीको मात्रै नाम सिफारिस हुँदैछ। घोराही नगर सभापति तिलक रावतका अनुसार आइतबार नै नाम सिफारिस गर्ने तयारी गरिएको छ।
उपमेयरमा दश जनाको नाम सिफारिस गर्न थालेको रावतले बताए। जसमा सावित्रा राना, पुष्पा श्रेष्ठ, गोमा रावत, जानका केसी, बालिका लम्साल, टीका डाँगी, निरजा पोखरेल, माया पोखरेललगायत छन्। २०७४ सालमा पुष्पा श्रेष्ठ उपमेयरमा पराजित भएकी थिइन। त्यस्तै लम्साल अहिले जिल्ला कार्य समिति सचिव हुन।
दाङको क्षेत्र नं. २ अन्तर्गत पर्ने घोराही नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र हो। त्यसैले घोराहीको मेयरमा गठबन्धनको तर्फबाट माओवादीले पनि दाबी गर्दै आएको छ। माओवादीबाट जीवन गौतमको नाम सबैभन्दा बढी चर्चामा छ।
रावतले पनि गठबन्धनकै कारण नाम सिफारिस गर्न ढिलाइ गरिएको र आइतबार नै गठबन्धनको बैठक बस्न थालेको जानकारी दिए।
एमालेले घोराहीमा अहिलेका मेयर नरूलाल चौधरी, उपमेयर सीता न्यौपानेको नाम मेयरको लागि सिफारिस गरेको छ। त्यस्तै उपमेयरमा होमा डिसी, हिरा पुनको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष बस्नेतले बताए।
लमहीमा को-को?
लमही नगरपालिकामा मेयरका लागि कांग्रेसबाट १७ र उपमेयरका लागि दश जनाको नाम सिफारिस गर्ने तयारी गरिएको छ। नगर सभापति सन्तोष बुढाथोकीले आकांक्षीको टुंगो लागिसकेको र सोमबारसम्म नाम सिफारिस गरिने जानकारी दिए।कांग्रेसबाट मेयरमा कर्णबहादुर बुढाथोकी, जोगराज चौधरी, राकेश पन्त, देवकी बेलबासेलगायत आकांक्षी छन्।
बुढाथोकी २०७४ सालको निर्वाचनका पनि आकांक्षी थिए। खुमबहादुर खड्काको आग्रहमा उनले अन्तिममा उम्मेदवारी फिर्ता लिएका थिए। चौधरी मेयरमा पराजित भएका व्यक्ति हुन। बेलबासे अहिलेकी उपमेयर हुन।
त्यस्तै उपमेयरमा गीता चौधरी, लक्ष्मी योगी, गंगा चौधरी, मधुलिका चौधरीलगायतको नाम सिफारिस गर्न थालिएको नगर सभापति बुढाथोकीले बताए। बुढाथोकीका अनुसार सोमबार नै लमहीमा गठबन्धनको बैठक बस्न लागेको छ।
निर्वाचन क्षेत्र नं. १ नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले जितेको क्षेत्र भएको हुँदा लमहीको मेयरमा समाजवादीले पनि आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ। त्यहाँ माओवादी केन्द्रको दाबी पनि रहेको छ।
नेकपा एमालेका अध्यक्ष बस्नेतले लमहीको मेयरका लागि अहिलेका मेयर कुलबहादुर केसी, डण्डीराम चौधरी, रतन केसीको नाम सिफारिस गरिएको जानकारी दिए। त्यस्तै उपमेयरमा सुशीला शर्मा र निर्मला चौधरीको नाम सिफारिस भएको छ।