राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आज राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरेकी छन्।
चलचित्र विकास बोर्डले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको समारोहमा ती पुरस्कार र सम्मान वितरण गरिएको हो।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रका माध्यमबाट राष्ट्रको योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै यस क्षेत्रको विकास र समृद्धिका लागि बोर्डबाट भएका कामको प्रशंसा गरिन्।
विसं २०७६/२०७७ को दीर्घ साधना सम्मानबाट क्रमशः अभिनेत्री भुवन थापा र संगीतकार शम्भुजित बाँस्कोटा सम्मानित भए। उनीहरूलाई नगद तीन लाख ५१ हजार रूपैयाँ प्रदान गरिएको थियो।
पुरस्कृततर्फ उत्कृष्ट छायांकन विधामा ‘छ माया छपक्कै’ बाट हरि हुमागाईं, ‘कबड्डी कबड्डी कबड्डी’ बाट सम्पादन विधामा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड पाएका छन्। आदिवासी जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ लाई पुरस्कृत गरिएको छ।
प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अंकित शर्मालाई प्राप्त भएको थियो।
विसं २०७६ मा विशेष चलचित्र पुरस्कार 'आमा', गुरुङ भाषाको 'मि न्होर्बै ट' र 'नालापानी' ले तथा २०७७ सालको विशेष फिल्म ‘सरिता’ बनेको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।