मध्य अमेरिकी मुलुक होन्डुरसका पूर्वराष्ट्रपति हुवान एन्टोनियो हेर्नान्डेजलाई अमेरिका सुपुर्दगी गरिने भएको छ।
सन् २०१४ देखि गत जनवरीसम्म होन्डुरसका राष्ट्रपति भएका हेर्नान्डेजविरूद्ध अमेरिकी अदालतमा लागुऔषध कारोबार गरेकोलगायत मुद्दा छन्।
समाचार संस्था रोयटर्सका अनुसार हेर्नान्डेजलाई अमेरिका ल्याउन युएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनको चार्टर्ड जहाज बिहीबार होन्डुरस जाँदैछ।
गत फेब्रुअरीमा होन्डुरस प्रहरीले पक्राउ गरेका हेर्नान्डेजलाई आजै अमेरिका ल्याइने छ।
उनले लागुऔषध कारोबारीसँग मिलेर सयौं टन लागुऔषध अमेरिका पठाउन सघाएको आरोप छ। त्यसबापत उनले घुस लिएको अमेरिकी अभियोजनकर्ताहरूको दाबी छ।
अमेरिकाले हेर्नान्डेजको सुपुर्दगीका लागि गरेको अनुरोधलाई होन्डुरसको अदालतले स्वीकार गरेपछि उनलाई अमेरिका पठाउन लागिएको हो।
हेर्नान्डेजले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्।