स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ।
अहिलेसम्म नेपाल प्रहरी विमानस्थल सुरक्षामा खट्दै आएकोमा उनीहरू अब निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो।
जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएको जानकारी दिए।
विमानस्थलको सुरक्षामा संलग्न प्रहरी निर्वाचनमा खटिएकाले यस अवधिभरका लागि नेपाली सेनाले विमानस्थल सुरक्षा गर्ने उनले बताए। अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना सैनिक विमानस्थलको सुरक्षामा खटिएका छन्।
एक्सरे मेसिन तथा विमानस्थलमा शरीर जाँचपड्ताल गर्न भने महिलाका लागि महिला प्रहरी र पुरूषका लागि पुरूष प्रहरी नै खटिने छन्।