अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ। रूसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो।
गत फेब्रुअरीमा रूसले आक्रमण सुरू गरेपछि सुरक्षाको कारण देखाउँदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको अमेरिकाले युद्व नरोकिए पनि अहिले दूतावास पुनर्स्थापना गर्न लागेको हो।
अमेरिकी कूटनीतिज्ञहरुका अनुसार दूतावास पुनर्स्थापनाका लागि आवश्यक गृहकार्य तीब्र रुपमा भइरहेको समाचार संस्था एएफपीले जनाएको छ।
‘हामीले चाँडैनै दूतावास पुनर्स्थापना हुने अपेक्षा गरेका छौं, त्यसका लागि अमेरिकाको तर्फबाट गर्नुपर्ने गृहकार्य भइरहेको छ,’ एक अमेरिकी सरकारी अधिकारीले भनेका छन्।
युक्रेनमाथि रुसले गरेको आक्रमणको सबैभन्दा चर्को विरोध गर्दै आएको अमेरिकाले रूसी आक्रमणकारीले आफ्नो दूतावासमा पनि आक्रमण गर्ने खतरा रहेको भन्दै दूतवास बन्द गरेर आफ्ना सबै कर्मचारीहरूलाई स्वदेश फिर्ता गरेको थियो।
अमेरिकाले युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको आरोप आक्रमण हुनुभन्दा केही दिन अगाडि देखिनै लगाउँदै आएको थियो। तर रुसले भने आक्रमणको तयारी नभएको दाबी गर्दै आएको थियो। अन्ततः फेब्रुअरी २४ मा अमेरिकाको आरोप सत्य सावित भयो। र रूसले युक्रेनमाथि आक्रमण थाल्यो।
रुसको आक्रमणका कारण अहिलेसम्म युक्रेनमा सयौंको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्।
दुई देशको विवाद चर्किदै गएपछि युद्धमा परिणत भएको हो।
यसैबीच वार्ताको माध्यमबाट तत्काल युद्ध अन्त्य गर्न विश्व समुदायले आग्रह गरेको छ। सर्वत्र आग्रहका आधारमा आक्रमण भएको पहिलो हप्तामा केही चरणमा वार्ता भए पनि सफल हुन नसकेपछि युद्ध अहिले पनि जारी छ।