नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका अहिलेका मन्त्री फिर्ता गरी नयाँ मन्त्री पठाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन।
एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।
त्यसपछि नयाँ मन्त्रीका नामसमेत सार्वजनिक भएका थिए। सोमबार नयाँ मन्त्रीहरूको नियुक्ति र सपथ गरिने भने पनि अहिलेसम्म त्यसको सुरसार छैन।
एकीकृत समाजवादीका नेतासमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्री परिवर्तन गर्ने निर्णयबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।
मन्त्री खतिवडासँग गरिएको संक्षिप्त कुराकानी:
तपाईं आज मन्त्रालय जानुभएको छ कि छैन?
म एउटा काममा थिएँ, भर्खरै आएर खाना खाएँ। अब मन्त्रालय, संसदलगायत ठाउँमा पुग्छु नि।
पार्टीले मन्त्री परिवर्तन गर्न लागेको भन्ने थियो, के हो?
बजेट सेसन चलिरहेको बेला बजेट पेश गरेको सरकार, बजेट पेश गर्ने मन्त्री फेर्ने कुरा विश्वमै नहुने कुरा हो। यहाँ कसरी हुन्छ? बजारको हल्ला बजारमै सकिएन र भन्या। कहीँ नभएको जात्रा हाँडीगाउँमा कसैले गर्छ र भन्या, गर्दैन नि!
तपाईंहरूको पार्टीले हिजो मन्त्री फिर्ता बोलाउने निर्णय गरेको होइन र?
मलाई थाहा भएन। म त्यो बैठकमा पनि थिइनँ। मलाई त्यसबारे सूचना पनि छैन।
तपाईंहरूलाई मन्त्री बन्दा नै छ महिनाका लागि मात्र हो भनिएको थियो रे त?
त्यस्तो पनि हुन्छ? तीन महिना, छ महिना, पाँच वर्षका लागि भनेर हुन्छ र? काम गर्दै जाँदा आवश्यकताले कोही बस्ने, कोही हट्ने, सबै बस्ने, सबै हट्ने जे पनि हुन सक्छ पार्टीभित्र र दलीय व्यवस्थामा। तर पहिले नै व्यवस्था गरेर १५ दिन तेरो, ५० दिन तेरो भन्ने हुन्छ र?
बदलिँदो परिस्थितिबारे अध्यक्ष माधव नेपालसँग कुरा गर्नुभएको छ?
कुरा भएको छैन। उहाँले बोलाउनु होला, छलफल होला।
नयाँ मन्त्री हुने भनेर तपाईंका सांसदहरूले बधाई खाइसक्नुभयो, अब के हुन्छ?
के भएको छ र के हुनलाई!
नयाँ मन्त्री हुनेले हिजो दिनभर बधाई खानुभयो, आज सपथ भएन नि!
न नयाँ मन्त्री नियुक्त गरेको थाहा छ न आफू नै भूतपूर्व मन्त्री भएको थाहा छ, केही थाहा छैन।
तपाईंलाई पार्टीले मन्त्रीबाट हटाएको जानकारी दिएको थिएन?
छैन, छैन त्यस्तो केही छैन।
प्रधानमन्त्रीले मन्त्री फेर्न रोक्नुभयो भन्ने पनि रहेछ नि?
प्रधानमन्त्रीको कुरो मलाई थाहा भएन।
बिहान केही मन्त्रीहरू बालुवाटार जानुभएको थियो रे त?
दलीय व्यवस्थामा पार्टी कार्यालयमा मन्त्री जानु, प्रधानमन्त्रीलाई मन्त्रीले भेट्नु, राति बास बस्न घरमा जानु पनि कुनै न्युजको विषय हो र?
मन्त्रिपरिषद् बैठकका लागि त जानुभएको होइन नि प्रधानमन्त्री भेट्न?
मन्त्रिपरिषद् बैठक आज अपरान्ह ४ बजेका लागि बोलाएको छ। म ४ बजे क्याबिनेट बैठकमा जान्छु। मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री भेट्ने भन्ने हुन्न, हामीलाई बैठकका प्रस्ताव आउँछन्।