सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले असंलग्नतालाई आफ्नो परराष्ट्र नीतिको अभिन्न अंगका रूपमा समेटेको उल्लेख गर्दै ‘असंलग्न आन्दोलन’ का सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
अजरबैजानको राजधानी बाकुमा बिहीबारदेखि सुरू भएको असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनलाई सम्बोधन गर्दै उनले असंलग्न आन्दोलनका मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ कोसेढुंगा सावित भएको बताए।
असंलग्न आन्दोलन विश्वभरका देशहरूमा स्वतन्त्रता, स्वाबलम्बन, लोकतन्त्र र न्याय सुनिश्चित गर्न सफल भएको बताउँदै उनले सामूहिक प्रयासबाट द्वन्द्व र चुनौती घटाउन सकिएको उल्लेख गरे।
सञ्जालले उदीयमान विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्दै असंलग्न मान्यतालाई सघनरूपमा विस्तार गर्न संसदहरूलाई सक्षम बनाउने विश्वास व्यक्त गरे।
‘शान्त, समृद्ध र न्यायपूर्ण संसारको खोजीमा असंलग्न आन्दोलनले सबै क्षेत्र र मार्गहरूलाई संलग्न गरिरहनुपर्छ’ उनले भने, ‘असंलग्न देशका संसदहरूसँग हाम्रो साझा सरोकारका विश्वव्यापी ‘एजेन्डा’लाई सम्बोधन गर्न आन्दोलनको प्रयासलाई पूरक बनाउन सक्ने क्षमता र शक्ति छ।’
उनले प्रगति, समृद्धि, न्याय र समानतामा आधारित साझा भविष्यका लागि आन्दोलनका नेतालगायत विश्वका सबै नेतालाई हातेमालो गर्न आह्वान पनि गरेका छन्।