दुई दिनअघि सेवाग्राहीबाट एक लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित सहरी विकास तथा भवन निर्माण कार्यालयका सब-इन्जिनियर रूपेश दुबेविरूद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ।
उनलाई उक्त अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
सेवाग्राहीसँग घुस लिइरहेको पूर्वसूचनाको आधारमा बिर्तास्थित वडा प्रहरी कार्यालयको टोलीले दुबेलाई कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौंडा शाखामा बुझाउनका लागि रायसल्लाह लिँदा उक्त शाखाबाट प्रहरीबाटै मुद्दा चलाएर अनुसन्धान गर्न सुझाव आएपछि मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको हो।
मनवास्थित सब-डिभिजन वन कार्यालयको १७ लाख रुपैयाँको लागतमा निर्माण भएको भवनको मूल्यांकन गरिदिने बहानामा ठेकेदारबाट रकम लिँदै गरेको अवस्थामा दुबे पक्राउ परेका थिए।
उनी धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ निवासी हुन्।