नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको सिद्धान्त कांग्रेसले नछाडेको बताएका छन्।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४०औं स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा शनिबार आयोजित वृक्षरोपण कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेस सधैँ बिपी पथमा हिँडेको बताए।
विपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि विपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ थिय।
उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने पनि बताए। गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै उनले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राखे।
उनले तनहुँमा कांग्रेसको नेतृत्वमा धेरै काम सुरू भएकाले यसलाई सम्पन्न गराउने जिम्मेवारी पनि कांग्रेसको भएको बताए।
‘मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन्। यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु,’ उनले भने।