अहिले नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतम समूह मिलेर निर्वाचनमा एउटै मोर्चा बनाउने तयारी भइरहेको छ। यसका लागि उनीहरूले समाजवादी मोर्चा बनाउने भनेका छन्। समाजवादी मोर्चामार्फत् एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा भाग लिने सैद्धान्तिक सहमति भइसकेको नेताहरूको दाबी छ। समाजवादी मोर्चा, सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेससँगको गठबन्धन, वाम गठबन्धनलगायत विषयमा केन्द्रित रहेर हामीले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँग भिडिओ कुराकानी गरेका छौं।
पुनसँग गरिएको कुराकानीको सम्पादित अंश:
अहिले सत्ता गठबन्धनमा रहेका कम्युनिष्ट पार्टीहरूले समाजवादी केन्द्र बनाउन प्रयास गरिरहेका छन्, यो प्रक्रिया कहाँ पुगेको छ?
पहिलो कुरा, पार्टीहरू निश्चित विचार र निश्चित राजनीतिबाट निर्देशित हुन्छन्। त्यहीअनुसार नै पार्टीको विस्तार हुने हो। तर खास-खास अवस्थामा राजनीतिक एजेन्डा, कार्यनीतिक विषयमा गठबन्धन, तालमेल, सहकार्य हुनेगर्छ। यसरी हेर्दा अबको आम निर्वाचनमा समाजवादी विचारधारा बोकेका, समग्रमा भन्दा वामपन्थी विचारधारा बोकेका पार्टीहरू एक ठाउँमा आउनु पर्छ भन्ने छलफल अगाडि बढेको छ। त्यसलाई हामीले मोर्चाका रूपमा संगठित गर्ने प्रयास गरिरहेका छौं।
यसमा कुन-कुन पार्टी आवद्ध हुन्छन्?
मुख्यत: माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, त्यसैगरी बाबुराम भट्टराई, वामदेव गौतम समूहसँग हाम्रो छलफल भइरहेको छ। यो सबै जोडेर हामी समाजवादी केन्द्र वा समाजवादी मोर्चा बनाउँछौं।
त्यो मोर्चामा सहभागी हुन जसपा पनि तयार छ?
जनता समाजवादी पार्टी तयार छ किनभने उहाँहरू आफैंमा वाम र प्रगतिशील सोच राख्नुहुन्छ। उहाँहरूको आफ्नै पार्टीको नाम पनि समाजवादी छ र उहाँहरू समाजवादी क्रान्ति र आन्दोलनको पक्षधर हो।
बाबुराम भट्टराईले २०७२ सालमा पार्टी छोड्ने बेलामा प्रचण्डले ‘मैले उहाँलाई धेरै वर्ष झेलेको हो। अब कसैले झेलोस् न’ भन्नुभएको थियो। प्रचण्डले फेरि उहाँलाई किन झेल्न खोज्नुभएको हो?
खासगरी बाबुराम भट्टराई माओवादी आन्दोलनको उत्पादन हो। माओवादी आन्दोलनको नेता हो। माओवादी आन्दोलनका उपलब्धी र कमजोरीसँग उहाँ पनि जोडिनुभएको छ। बीचमा उहाँले कम्युनिष्ट पार्टी कम्युनिष्ट आन्दोलनबाट अगाडि बढ्न सक्दैन। नयाँ वैकल्पिक पार्टी बनाउनु पर्छ भनेर प्रयास गर्नुभयो। कम्युनिष्ट पार्टी र कम्युनिष्ट विचारधाराबाट नै नयाँ धार बनाउनुपर्छ त्यो हाम्रो विशेषता बन्नुपर्छ भन्ने निष्कर्षमा उहाँ आउनु भएजस्तो लाग्छ। हामीले पनि परम्परागत खालको कम्युनिष्ट राजनीति, कम्युनिष्ट सत्ताको परिकल्पना गरेको होइन। हामीले भन्ने, माधवजी, उपेन्द्रजी र बाबुरामजीले भन्ने समाजवादमा मोटामोटी समानता छ। यो कुरा हामी एकै ठाउँमा र एउटै मोर्चामा बसेर छलफल बहस गर्दै अघि बढ्न सक्छौं। हामी मोटामोटी विचारमा, राजनीतिमा एकै ठाउँमा आएका छौं। तत्कालको राजनीतिक कार्यनीतिमा पनि एकै ठाउँमा आएका छौं। यो झेल्नेभन्दा पनि विगतमा हामीले संघर्ष पनि गर्यौं, सहकार्य पनि गर्यौं। फेरि एउटै मोर्चामा सहकार्य गर्दै अन्तत: पार्टी पनि एकै ठाउँमा आउनुपर्छ भन्ने हाम्रो छलफल छ।
हिजो प्रचण्डले त्यस्तो भनेको भएर कसरी एकै ठाउँमा बस्ने अवस्था आउला भन्ने हो नि?
उहाँहरू दसौं, बीसौ वर्ष सँगै बसेकै हो। मान्छे प्रवृत्ति र समस्या सहितको हुन्छ। मान्छे गुण र क्षमता सहितको पनि हुन्छ। हामीले सकारात्मक रूपले हेर्ने हो।
पार्टीमा रहँदा पनि एक अर्कालाई सम्मान गर्छौं। पार्टी छोडेको भोलिपल्टै पनि संवाद गर्ने माओवादी आन्दोलनको विशेषता हो। प्रचण्डको प्रवृत्ति भनेको सकारात्मक सोच राख्ने हो। टुटफुट भएपछि पनि धेरैभन्दा धेरै साथीहरूलाई समेट्न खोज्ने र समेट्दा पनि महत्वपूर्ण जिम्मेवारी दिने उहाँको विशेषता हो। माओवादी आन्दोलनको आफ्नै खालको संस्कार छ। तपाईंले उल्लेख गर्नुभएको कुरा एउटा सन्दर्भमा आएको होला। तर एक-अर्कालाई गाली गरेर सिध्याउने ढंगले हामी माओवादीबीच कहिल्यै पनि आरोप-प्रत्यारोप भएन। माओवादीहरू अहिले पनि अलग-अलग पार्टीमा छन्। हामी भेटघाट, संवादमा र छलफलमा छौं। विचार नमिलेपछि आफ्नो बाटो पनि छ। हामी एकअर्काले आत्ममूल्यांकन गरेको कारणले पनि एक ठाउँमा आउने मोर्चा बनाउने आधार बनेको छ।
कति समयभित्र समाजवादी मोर्चाको आकार आउला?
हामीले यो मोर्चा कुनै गणितीय खेलका लागि बनाउन खोजेको होइन। नेपालमा जनवादी क्रान्ति भइसकेपछि समाजवादतिर जाने यात्रा गर्ने यात्रीहरू र निकटता भएकाहरू सँगै छलफल गरेर जुट्नुपर्छ भन्ने हो। यही बेलामा एमाले नेताहरू दुई दलीय व्यवस्थाको वकालत गरिरहेका छन्। एक चरणको क्रान्ति पूरा भयो, अब विचार मिलेकाहरू एक ठाउँमा हुनुपर्छ भन्ने हो। समाजवादको आधार तयार पार्नुपर्छ भन्ने शक्ति एक ठाउँमा हुनुपर्छ भन्ने हो। त्यसो भयो भने वामपन्थी शक्ति र परम्परागत संसदवादी शक्ति दुई मुख्य हुन्छन्। त्यसमा संक्रमणकालीन मध्यवर्ती शक्ति रहिरहन्छन्। दुई पार्टी होइन कि दुई विचारधारा र दुई प्रवृत्ति रहिरहन्छन्। क्रान्तिकारी प्रवृत्ति र वाम शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्ने भनेको हो।
पार्टी एकता चुनाव अगाडि हुन्छ कि हुँदैन?
अहिले चुनावअगाडि हतारमा पार्टी एकता गर्नेभन्दा पनि अलिकति छलफल र बहसबाट परिपक्व ढंगले नै एकता गर्ने सोचेको हो।
चुनावमा तपाईंहरूले एउटै चुनाव चिन्ह प्रयोग गर्ने, त्यस्तो हुन नसके गठबन्धन गर्नुहुन्छ?
हामी एउटै मोर्चा बनाउँछौं। एउटै निर्वाचन चिन्ह र एउटै घोषणा पत्र लिएर जनतामा जान्छौं। अहिले हामीले एउटै चुनाव चिन्ह र प्रतिवद्धता पत्रका लागि पहल गरिरहेका छौं। समाजवादी मोर्चामा भएका सबै साथीहरू एउटै चनाव चिन्ह र घोषणा पत्रमा जाने गरी तयारी चलिरहेको छ।
तपाईंहरूले कांग्रेससँगको बार्गेनिङको लागि यस्तो गरिएको भन्ने छ नि?
कांग्रेससँग हामीले बार्गेनिङ गर्न आवश्यक छैन। अहिलेको निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउँदैन, सबैको अल्पमत नै हो। कसैको आकार ठूलो होला कसैको सानो। अर्को कुरा हाम्रो प्रभाव क्षेत्रमा हामीले जित्छौं, काग्रेसले आफ्नो ठाउँमा र एमालेले पनि आफ्नो ठाउँमा जित्ने हो। अर्थात् सबैले आफ्नो ठाउँमा जित्ने हो। कांग्रेसलाई हामीले कुनै दबाब दिन आवश्यक छैन। एउटा विशिष्ट सन्दर्भमा हामीले कांग्रेससँग सरकारको गठबन्धन बनाएको हो।
आउने चुनावमा नेपाली कांग्रेससँग सिट बाँडेर तालमेल हुँदैन?
कांग्रेसले देशभरि गठबन्धन गरौं भन्यो भने हामी त्यसका लागि खुला छौं। हामी १ सय ६५ क्षेत्रलाई केन्द्र गरेर समाजवादी मोर्चामार्फत् एउटै गठबन्धनको रूपमा जान्छौं। बाँकी कांग्रेस कसरी आउँछ, त्यसपछि थाहा हुन्छ। यो कुनै पनि दबाब होइन र बार्गेनिङ पनि होइन। हामी हाम्रो ठाउँमा जित्छौं। अहिले १ सय ६५ क्षेत्रमा हाम्रा प्रतिनिधि छन्। फेरि पनि मोर्चामा आवद्ध साथीहरूले यसलाई आधार बनाएर नतिजा दिने कोशिश गर्छौं।
कांग्रेससँग तालमेल हुन पनि सक्छ/नहुन पनि सक्छ भन्ने हो?
समाजवादी मोर्चामा आउन चाहेकाहरू सबैले गठबन्धनको निर्णय गरेका छन्। कांग्रेस आफैंले पनि गठबन्धनलाई निरन्तरता दिने भनेको हुनाले केही न केही तालमेल हुन्छ भन्ने देखिन्छ। अहिले हामी कांग्रेससँग तालमेल हुन्छ भनेर हिसाबभन्दा पनि वैकल्पिक र समाजवादी धार बनाउने अनि त्यसमा आवद्ध पार्टीहरूलाई एक ठाउँमा ल्याउने र आफ्नो शक्ति निर्माण गर्ने भन्नेमा केन्द्रित छौं। आवश्यकताअनुसार तालमेल गर्ने भन्नेमा पनि हामी छौं।
वाम गठबन्धनको चर्चा पनि बेलाबखत चल्दै आएको छ नि? विशेष गरेर एकीकृत समाजवादीका नेता झलनाथ खनालले वाम गठबन्धनमा जोड दिँदै आउनुभएको छ?
अहिले वाम भनेर ठ्याक्कै हामी जुन वामको परिकल्पना गर्छौं। त्यस्ता दलहरू सबै समाजवादी मोर्चामा बस्छौं। ओलीजीले नेतृत्व गरेको नेकपा एमाले आधारभूत रूपले वामपन्थी देखिन्छ तर त्यो पार्टीले लिएका राजनीतिक कदम हेर्दा राजनीतिक रूपले असाध्यै दक्षिणपन्थी छ। धर्म निरपेक्षता र संघीयता विरोधी कुरा गरिरहेको छ। गणतन्त्रमाथि प्रश्न उठ्ने काम गरेको छ। प्रतिगमनको बाटोमा जान्छ। अहिले एमाले दक्षिणपन्थी हिस्सामा छ। कांग्रेस मध्यवर्ती पोजिसनमा छ। हामी अग्रपन्थी र क्रान्तिकारी हिस्सामा छौं। अहिलेको अवस्थामा एमालेसँगको तालमेलको सम्भावना असाध्यै कम छ। एमालेले आत्मसमीक्षा गर्छ भने सोच्न सकिन्छ। साढे तीन वर्षसम्म सरकार चलाउँदा सोचेअनुसार काम गर्न सकिएन भनेर आत्मसमीक्षा गरेमा सोच्न सकिन्छ।
यहाँको पार्टीको बारेमा चर्चा गरिहालौं। केही दिनअघि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले स्थायी कमिटी र पदाधिकारीको टुंगो छिट्टै लगाउँछु भन्नुभएको थियो, कहिलेसम्म हुन्छ?
अब पोलिटब्युरो बनेको छ। मिटिङमा उठेका कुराहरूलाई मिलाएर सर्कुलरमा पठाउँदैछौं। स्थायी समिति १५ जनाको छ, काम गरिरहेको छ। बाँकी थप विषयमा छलफल चलिरहेको छ। पदाधिकारीहरूको चयन चुनाव अगाडि हुने सम्भावना छैन। पर्याप्त गृहकार्य पनि गर्न सकेका छैनौं। हामी समाजवादी मोर्चा बनाउने सरकारका विभिन्न काम कारबाहीका कुराहरूमा, संसदका महत्वपूर्ण विधेयकहरूमा व्यस्त भएकाले पदाधिकारी चयनमा छलफल हुन पाएको छैन। मलाई निर्वाचनअघि पदाधिकारी चयन हुन्छजस्तो लाग्दैन।
प्रचण्ड आफैंले नचाहेर हो भन्ने पनि आइरहेको छ नि?
त्यस्तो होइन, वरिष्ठ उपाध्यक्ष त हामीले बनाएका छौं नि। अरू पदाधिकारीको पनि मोटामोटी छलफल चलेको छ। एकातिर वाम शक्तिको बीचमा ध्रुविकरणको कुरा पनि गरिरहेका छौं। अर्कोतिर एक वर्षभित्रै हामी विशेष अधिवशेन गर्छौं। हतारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशन भन्यौं। त्यसैले नीतिबारे बहस हुन पाएन। नीति महाधिवेशनजस्तो विशेष महाधिवेशन गर्ने भनेर महाधिवेशनले नै भनेको छ। त्यही क्रममा उस्तै परे त्यहाँसम्म पनि जानसक्छ। पदाधिकारी नभएर हाम्रो काम रोकिएको छैन। स्थायी कमिटीले काम गरिरहेको छ।