नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्वको अवसर दिनुपर्ने बताएका छन्।
प्रवक्ता महतले बिहीबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै कांग्रेसले हरेक नेता कार्यकर्ताको योगदान, क्षमता, लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका हुन्।
महतले नुवाकोटका जनताले आवश्यक ठानेमा आफू नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्नेसमेत बताए।
'छहरे–टोखा सुरुङ मार्ग निर्माण, बालाजु–ककनी सडक निर्माणलगायत नुवाकोटको विकासका लागि धेरै काम गर्न बाँकी छ, नुवाकोटबाट प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने मेरो इच्छा छ,' उनले भने।
पूर्व ऊर्जामन्त्री रहेका महतले आफ्नो कार्यकालमा नुवाकोटका अधिकांश स्थानमा विद्युतीकरण गरेको स्मरण गरे। नुवाकोटमा कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने उनको भनाइ थियो।
वर्तमान गठबन्धन निर्वाचनसम्म कायम राखेर जाने पक्षमा कांग्रेस रहेको पनि उनले स्पष्ट पारे।