जिल्ला निर्वाचन कार्यालय बैतडीले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन स्थगित गरिएको छ।
सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै यहाँ नामावली संकलन कार्य स्थगित गरिएको हो।
निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगित गरिएको कार्यालयका प्रमुख माधव फुँयालले बताए।
मतदाता नामावली संकलनको पछिल्लो तथ्यांक अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ।
उनले भने, ‘संकलित नामावली रूजु गर्ने काम भइरहेको छ, रूजु सम्पन्नपछि आयोगमा पठाउँछौं, त्यसपछि मतदाताको यकिन सङ्ख्या आउँछ।’
स्थानीय निर्वाचनपछि गत असार १ गतदेखि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नामावली संकलनको काम नियमित रूपमा भइरहेको थियो।
बैतडीका हालसम्म एक लाख ५१ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्।
स्थानीय निर्वाचनमा एक लाख ४८ हजार ६०६ मतदाता रहेकामा त्यसपछि थप तीन हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशी जानकारी दिए।
सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। मताधिकारका लागि भने फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताका साथै १८ वर्ष पूरा भएको हुनुपर्दछ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै यहाँ पनि निर्वाचन कार्यालयले आन्तरिक तयारी थालेको जनाइएको छ। आयोगले कार्यातालिका सार्वजनिक गरेपछि त्यसैअनुसार जिल्लामा पनि थप काम थालिने निर्वाचन कार्यालयले जनाएको छ।