नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)को मूल नेतृत्वका कारण चुनावी तालमेल सम्भव नभएको बताएका छन्।
सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै खनालले विभिन्न तरिकाले एमाले नेतासँग छलफल भएको तर मूल नेतृत्वले वास्ता नगरेको बताए।
‘मैले त धेरै प्रयास गरेको हो। तर ठूलो वाम पार्टी एमाले तयार भएन। उसका बहुसंख्यक नेता-कार्यकर्ता तयार थिए,’ खनालले भने,‘मूल नेतृत्व तयार नभएको मात्र होइन कि उसले हामीलाई कहिले देशद्रोही भन्ने कहिले बञ्चराको बिँड भन्ने गर्यो। अब हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन केन्द्रित भएका छौं।'
उनले वाम एकता असम्भव नरहे पनि यो चुनावका लागि हुने सम्भावना नदेखिएको बताए।
पाँच दलबीच चुनावी गठबन्धन गर्दा २०७४ को निर्वाचनका आधारमा जुन पार्टीका जति सांसद छन्, त्यसलाई मुख्य आधार बनाउनु पर्ने खनालले बताए।
आफ्नो पार्टीभित्र कुनै विवाद नरहेको तर यसलाई अरूले धेरै हल्ला फैलाएको उनको दाबी छ।
एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाबीच पनि तालमेल गर्ने र एउटै घोषणा पत्र बनाउने प्रयास भएको बताए। तर एउटै निर्वाचन चिन्ह बनाउने भन्नेमा भने छलफल नभएको र त्यो सम्भव नभएको बताए।
‘चार दलको मोर्चा बनाएर जाने विषयमा छलफल चलिरहेको छ। चुनावी तालमेलको प्रयास भइरहेको छ। एउटा घोषणा पत्र लिएर जान सक्ने सम्भावना छ। तर चुनाव चिन्हमा भने हामी धेरै जटिलतामा जाँदैनौं,’ उनले भने, ‘साझा चुनाव चिन्ह लिएर जाने सम्भावना शून्य त छैन तर धेरै कम छ। आफ्ना पार्टीका चुनाव चिन्हलाई जनतामा चिनाएर जानुपर्छ। त्यसमा पनि हाम्रो पार्टी नयाँ भएकाले अझै जरूरी छ।’
वाम गठबन्धनको सम्भावना, एमालेसँगको तालमेल, पाँच दलीय गठबन्धन र एकीकृत समाजवादी भित्रको विवादलगायत विषयमा खनालसँग हामीले भिडिओ कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य अंश:
-हाम्रो देश अहिले समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा छ। हामीले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरिसक्यौं। युगिन विशेषता, आवश्यकता र मागअनुसार मैले रणनीतिक हिसाबले अहिलेको आवश्यकता वाम एकता भनेर उठाउँदै आएँ। तर नेकपा एमाले तयार भएन।
-म अहिले पनि कुनै वामन्थीहरूसँग आग्रह, पूर्वाग्रह राखेर ढोका बन्द गरेर जाने पक्षमा छैन। हामी अहिले पाँच दलको कार्यगत एकताको पक्षमा छौं। यो गठबन्धनलाई अगाडि बढाएर लैजानुको विकल्प छैन।
-चुनावको प्रक्रिया सुरू भयो। निर्वचान आयोगले आफ्नो काम थालिसक्यो। अरू कुनै गडबडी भयो भने बेग्लै कुरा नत्र मंसिर ४ मा चुनाव हुने अवस्था छ। यो छोटो अवधिमा वाम एकता हुन्छ कि हुँदैन भन्ने ज्वलन्त प्रश्न बनेको छ। चाहेको अवस्थामा हुनसक्छ तर त्यो सम्भावना टर्दै गएको छ।
-आमकार्यकर्ता एमालेका हुन् वा हाम्रा या अरूका अहिले पनि कम्तीमा कार्यगत एकताको पक्षमा छन्। यो एकता नहुनुको प्रमुख कारण ठूलो दलको तर्फबाट पहल र सक्रियता नदेखाइनु नै हो।
-पाँच दलीय तालमेलका सन्दर्भमा एउटा कार्यदल बनेको छ। भदौको पहिलो सातासम्म तालमेलको कुरा टुंगो लगाउने भनेका छौं। हामीसँग १ सय ६५ क्षेत्र छन्। ३ सय ३० क्षेत्र प्रदेशमा छन्। यी क्षेत्र बाँडफाँट गर्नुपर्छ। सिट बाँडफाँट लेनदेन भएकाले कतिपय उतार-चढाव आउन सक्छन्। तर असम्भव छैन। एकले अर्कालाई समान देखेर, एकले अर्कालाई सहयोग गर्न तयार भए असम्भव भन्ने हुँदैन। हामी बस्छौं। एकआपसमा लेनदेन गरेर अघि बढ्छौं। त्यस्तो भएमा यो गठबन्धन अझै बलियो हुन्छ।
-मोर्चा कहिले अलि विस्तृत र कहिले सानो हुन्छ। तर विस्तार गर्दा औचित्यपूर्ण ढंगले हुन्छ। मोर्चा विस्तार हुनु नराम्रो होइन।
-अहिले हाम्रो पार्टी राष्ट्रव्यापी भइसकेको छ। हामी १ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा छौं। तालमेल गर्दा कतिपय ठाउँमा हामीले पाउने अनि कतिपय ठाउँमा नपाउने हुनसक्छ। समानुपातिक समेत हुने भएकाले असजिलो हुँदैन। २०७४ मा निर्वाचनका आधारमा कुन पार्टीसँग कति सांसद छन् त्यसलाई आधार बनाएर अघि बढ्नु पर्छ। त्यस आधारमा सिटको बाँडफाँट गर्नुपर्छ भन्ने हो। त्यसपछि पनि धेरै डेभलपमेन्ट भएको छ त्यसलाई आधार पनि बनाउनुपर्छ।
-हामीले स्थानीय तहको निर्वाचनमा करिब ९ लाख मत पाएको देखिन्छ। हाम्रो धेरैजसो मत अरू पार्टीमा गएको छ। त्यसैले त्यो सबै यथार्थ होइन। साँचो मत गएको हुन्थ्यो भने हाम्रो मत भनेको २० देखि २५ लाख हो। अझै यो मत बढ्छ भन्ने हो।
-म र माधव नेपालको बीचमा विवाद छ भन्ने बेकारको कुरा हो। हाम्रो पार्टी एकताबद्ध छ।