नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मंसिर ४ गते हुने संसदीय चुनाव काठमाडौंबाट लड्ने तयारी गरिरहेका छन्।
उनीनिकट एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार शर्मा काठमाडौं क्षेत्र नम्बर ५ मा लड्ने तयारीसहित छलफल गरिरहेका छन्।
काठमाडौं-५ बाट २०७४ मा कांग्रेसका प्रकाशशरण महत उम्मेदवार बनेका थिए। महतलाई हराएर नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जिते।
यही क्षेत्रमा शर्मा उठ्ने तयारीमा छन्। महामन्त्री शर्मा २०७४ मा झापा क्षेत्र नम्बर १ बाट उठेका थिए। उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भए।
कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए भने शर्माले ३३ हजार तीन सय १० मत मात्रै पाएका थिए।
त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वाम गठबन्धन गरेर चुनाव लडेका थिए।
शर्मानिकट ती नेताका अनुसार शर्मा मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा झापा १ मै लड्न चाहन्छन्। तर त्यहाँ उनलाई सजिलो अवस्था छैन।
‘उहाँको पहिलो प्राथमिकता झापा-१ बाटै चुनाव लडेर जितेर आउनेमै हुन्छ। तर त्यहाँ उहाँलाई रोक्न खोजियो भने काठमाडौं-५ बाट पनि लड्न सक्नुहुन्छ,’ शर्मानिकट नेताले भने, ‘झापामा कांग्रेसभित्रै आन्तरिक एकता देखिएको छैन। यसले महामन्त्री शर्मालाई अप्ठेरो पार्न सक्छ।’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र शर्माबीच झापामा लामो समयदेखि राजनीति सम्बन्ध सुमधुर छैन। एकले अर्को टिमलाई रोक्न खोज्ने स्रोतको दाबी छ।
शर्मानिकट स्रोतका अनुसार सिटौला पक्षले शर्मालाई खुलेर सहयोग गर्ने अवस्था नदेखिएपछि शर्मा झापा-१ बाट यसपालि चुनाव लड्न हच्किएका छन्।
गत स्थानीय चुनावमा पनि झापामा सिटौला र शर्मा समूहबीच सम्बन्ध राम्रो भएन। शर्माकै गृह नगर मेचीनगरको मेयरमा कांग्रेस उम्मेदवार पराजित भए।
यहाँ टिकट वितरण नै विवादित बनेको थियो। शर्मानिकट इन्द्रबहादुर बुढाथोकी मेयर उठे पनि एमालेसँग पराजित भएका थिए। यहाँ प्रदेश नम्बर १ कांग्रेसले मेयरका लागि केशवराज पाण्डेलाई टिकट दिएको थियो। पाण्डे सिटौलानिकट हुन्। प्रदेश १ कांग्रेस सभापति पनि सिटौलानिकट उद्धव थापा छन्।
स्थानीय चुनावमा शर्मा र सिटौला पक्षबीच शक्ति संघर्ष देखिएको थियो। सुरूमा सिटौलानिकट केशवराजले मेयर टिकट पाए। उक्त टिकट महामन्त्री शर्माले खोसेर उनीनिकट इन्द्रबहादुरलाई दिलाएको आरोप छ।
यसपालि सत्ता गठबन्धनका ५ दलभित्र चुनावी तालमेल गरेर जाने सहमति भइसकेको छ। उक्त सहमतिअनुसार सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको छ। जसको संयोजकमा सिटौला छन्।
शर्मानिकट ती नेताका अनुसार सिटौला सिट बाँडफाँट कार्यदलमा रहेकोले शर्मालाई प्रत्यक्षतर्फ टिकट नदिन उनले लबिङ गर्न सक्छन् वा त्यो क्षेत्र माओवादीलाई छाडिदिन सहमत हुन सक्छन्।
कांग्रेस संसदीय बोर्डले टिकट बाँड्छ र उक्त बोर्डमा महामन्त्री शर्मा पनि हुन्छन्। शर्मालाई पार्टीभित्रबाट नै हराउन खोज्ने स्थिति देखा परे उनले यसपालि क्षेत्र परिवर्तन गर्दै काठमाडौं-५ बाट उठ्न सक्छन्।
शर्मालाई झापा र काठमाडौंमध्ये कहाँ सजिलो?
काठमाडौं-५ मा स्थानीय चुनावको मत हेर्दा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतलाई आधार मान्दा कांग्रेस दोस्रो पार्टी हो। यहाँ एमाले पहिलो पार्टी हो उसका वडाध्यक्ष उम्मेदवारले १९ हजार सात सय ३ मत पाएका छन्। कांग्रेसका वडाध्यक्ष उम्मेदवारले १४ हजार आठ सय ५३ मत ल्याएका छन्।
यहाँ राप्रपाले दुई हजार ८ सय २२ मत ल्याएको छ भने नेकपा (एकीकृत समाजवादी) ले एक हजार ८ सय २७ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रले एक हजार एक सय ६८ मत ल्याएको छ। अरू दलका वडाध्यक्ष उम्मेदवारले एक हजार तीन सय १५ मत ल्याएका छन्।
यहाँ पाँच दलीय गठबन्धनको मत जोड्दा एमालेसँग करिब २ हजार मत नपुग्ने देखिन्छ। कांग्रेस महामन्त्री शर्माले यो मत लोकप्रियताका आधारमा आफूतर्फ तान्न सक्ने विश्वास गरेका छन्।
२०७४ को चुनावमा झापा-१ मा माओवादीका राम कार्कीसँग शर्मा दुई हजार ८ सय ६३ मतान्तरले पराजित भएका थिए। त्यसबेला कार्की वाम गठबन्धनका साझा उम्मेदवार थिए।
यसपालि भएको स्थानीय चुनावमा झापा-१ मा कांग्रेस एमालेभन्दा निकै पछि छ। यहाँ एमालेले ३१ हजार दुई सय ३२ मत ल्याएको छ।
कांग्रेसले भने २४ हजार ५९ मत ल्याएको छ।
माओवादीले तीन हजार ९ सय ९५, नेकपा एकीकृत समाजवादीले एक हजार दुई सय ५२, जसपाले ६९, राप्रपाले ६ हजार ९ सय २२ र स्वतन्त्रले दुई हजार २ सय ५६ मत ल्याएका छन्।
गठबन्धनका अन्य पार्टीको मत जोड्दा यहाँ कांग्रेसले २९ हजार हराहारी मत पुर्याउँछ तर एमाले एक्लैको मत ३१ हजार बढी छ। एमालेसँग राप्रपाले गठबन्धन गरे ३६ हजारभन्दा बढी मत पुर्याउने देखिन्छ।
स्थानीय चुनावको मत हेर्दा शर्मालाई झापा-१ भन्दा काठमाडौं-५ मा चुनाव जित्न सहज देखिन्छ।
सिटौलासँग अझै सुध्रिएन सम्बन्ध
गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनबाट विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भए। यो महाधिवेशनमा सिटौला भने उम्मेदवार भएनन्, सभापतिमा शेरबहादुर देउवाको समर्थक बसे।
युवा नेताहरू गगन थापा र शर्मा महामन्त्रीमा उम्मेदवार हुँदा सिटौलाले आफूनिकट प्रदीप पौडेललाई पनि महामन्त्रीमा प्रतिस्पर्धा गर्न उतारेका थिए, सभापति देउवाकै टिमबाट।
थापा र शर्माले महामन्त्री जिते। महामन्त्री जितेपछि गत पुस ४ मा सिटौलालाई भेट्न शर्मा उनकै निवास चन्डोल पुगे।
त्यसबेला शर्माले सिटौलासँग आशिर्वाद मागेका थिए। सिटौलासँग भेटमा शर्माले 'आफू आशिर्वाद लिन आएको बताउँदै विगतमा जे-जे भयो, तीतामीठा सबै बिर्सेर अघि बढौं' भनेका थिए।
सिटौलाले पनि शर्मालाई ढाडस दिए।
‘तिमी महामन्त्री भयो,अझै अघि बढ्नू। विगतमा जे-जे भयो ती सबै तीतामीठा कुरालाई अब बिर्सिऔं,’ सिटौलाले भनेका थिए।
एकै जिल्ला झापाका सिटौला र शर्माबीच राजनीति सम्बन्ध तिक्ततापूर्ण छ।
२०५७ मा नेविसंघ केन्द्रीय सभापतिमा शर्माले दाबी गरेपछि सिटौला उनको विपक्षमा खुलेरै लागेका थिए। यद्यपि शर्मा सभापति बनेका थिए। त्यही बिन्दुदेखि यी दुईबीच असमझदारी चुलिन सुरू भएको थियो।
सिटौला र शर्मा बीचको दरारपूर्ण सम्बन्धको उत्कर्ष कांग्रेसको १२ औं महाधिवेशन थियो। त्यो बेला शर्मा झापा सभापतिमा चुनाव लड्दा सिटौलाले उद्धव थापालाई अघि सारेका थिए, शर्मा पराजित भए।
पछिल्लो समयमा केन्द्र र जिल्ला दुबैतिर शर्माले शक्ति बढाउँदै लगेपछि सिटौला सशंकित रहेको कांग्रेस वृत्तमा चर्चा छ। यही आपसी बेमेलले उनीहरूबीच कटुतापूर्ण प्रतिस्पर्धाको अवस्था ल्याएको हो।