नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने बताएका छन्।
काठमाडौं, कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सोमबार आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले युग सुहाउँदो विकासको मोडल बनाउनुपर्ने बताएका हुन्।
अध्यक्ष दाहालले देशको स्थायित्व र समृद्धिका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक रहेको उल्लेख गर्दै नेपालको कला संस्कृति र प्रकृतिको विविधता सदुपयोग गर्दै समृद्ध नयाँ नेपाल बनाउनुपर्ने बताए।
नेपालको इतिहास र प्रकृति गर्व गर्नलायक रहेको भन्दै उनले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने उल्लेख गरे।
'नेपालको विकासको मोडल नेपालकै मौलिकतामा जनता खुसी र सुखी हुने खालको हुनुपर्छ,' उनले भने।
नेपाल कला, साहित्य, संस्कृति, अध्यात्मको भूमि भनेर विश्वमा परिचित रहेको भन्दै अध्यक्ष दाहालले नेपालको विकास भौतिक मात्र नभई देश र जनताको भावना समेटेर विकास गर्नुपर्ने आवश्यकता औंल्याए।