शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले संसदको यही कार्यकालमा संघीय शिक्षा विधेयक ल्याउन चाहेको तर काम गर्ने परम्परागत शैलीले गर्दा ढिलाइ भएको बताएका छन्।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बैठकमा मन्त्री पौडेलले शिक्षा मन्त्रालयमा कुनै पनि शिक्षासम्बन्धी विधेयक हाल प्रक्रियामा नरहेको बताए। प्रतिनिधिसभाको समयावधि सकिएपछि राष्ट्रियसभामा लगेर भए पनि शिक्षा विधेयक शून्यमा पुग्ने अवस्था नआउने उनले स्पष्ट पारे।
उनले भने, 'कानुनका विज्ञसँग सल्लाह गर्दा राष्ट्रियसभामा लैजान सल्लाह आएको छ।'
मन्त्री पौडेलले गत वर्ष चार सय २२ जनाले नर्सिङ पढ्न भर्ना भएको जानकारी दिँदै नेपालमा पारामेडिसिन र नर्सिङ पढाइमा समस्या रहेको बताए। ख्वपः विश्वविद्यालय र नेपाल विश्वविद्यालय विधेयकअघि बढाइएको उनले जानकारी दिए।
सांसदहरू योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, मीनबहादुर विश्वकर्मा, सरिता न्यौपाने, नवीना लामा, हितबहादुर तामाङ र रेखाकुमारी झाले कैलालीको गेटा मेडिकल कलेज र भक्तपुरको ख्वपः इञ्जिनियरिङ कलेजलाई विश्वविद्यालय बनाइनुपर्ने र नेपाल विश्वविद्यालय ऐन अघि बढाउन शिक्षा मन्त्रालय तत्पर हुनुपर्ने धारणा राखे।
संघीय शिक्षा ऐन नहुँदा शैक्षिक क्षेत्र अन्यौलमा परेकाले तत्काल ऐन ल्याइनुपर्ने उनीहरूको जोड थियो।