राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले संघीयताविरूद्ध योजनाबद्ध ढंगले प्रहार भइरहेकाले प्रदेश र स्थानीय तहले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताएका छन्।
राष्ट्रियसभाअन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा सोमबार सुर्खेतमा आयोजित ‘संघीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले संघीयता पक्षधरहरूले व्यवहारमा राम्रो काम गर्न सकेमात्र विरोधी आवाज मत्थर हुँदै जाने बताए।
संघीयता ठीक छ भन्ने कुरा व्यवहारमा काम गरेर देखाउन आवश्यक रहेको बताउँदै उनले भने, 'संघीयता चाहिँदैन भन्नेहरूको मुख बन्द गर्न पनि उत्कृष्ट काम गरेर देखाउनै पर्छ।'
अध्यक्ष तिमिल्सेनाले जनतालाई सुशासन, सेवा प्रवाहमा सहजता, विकास र समृद्धिको मार्गमा अघि बढ्न सकिएमा नै संघीय व्यवस्था सफल हुने विचार व्यक्त गरे। संघीयताको जग स्थानीय तह भएकाले त्यसलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
'जग बलियो नहुँदासम्म घर बलियो हुँदैन, संघीयताको जग स्थानीय तह हो,' उनले भने, 'स्थानीय तहलाई बलियो बनाउँदा देश बलियो बन्छ।'
अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनहादुर शाहीले संघीयता भनेकै प्रदेश तह भएको बताए।
'हिजोको एकात्मक व्यवस्थामा पनि केन्द्र र स्थानीय तह थिए,' उनले भने, 'प्रदेशलाई बलियो नबनाउँदासम्म संघीयता बलियो हुँदैन।'
उनले अहिलेको मुख्यमन्त्रीभन्दा त्यो बेलाको जिल्ला विकास समितिको सभापति धेरै शक्तिशाली भएको टिप्पणी गरे।
मुख्यमन्त्री शाहीले भने, 'संघीयतामा जाने तर प्रदेशलाई अधिकार नदिइँदा समस्या भएको छ। संविधानमा लेखिएका अधिकारका कुराहरू पनि कार्यान्वयन गर्न पाएका छैनौं। प्रदेशलाई अधिकार दिन नखोजिएको हो भने यसलाई अहिले नै खारेज गर्दा हुन्छ।'
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरू, विभिन्न स्थानीय तहका प्रमुख/उपप्रमुख, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो।