जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरताबिना आथिक विकास सम्भव नभएको बताएका छन्।
समाजवादी युवा संघको जनकपुरधाममा मंगलबारदेखि सुरू भएको राष्ट्रिय युवा भेला उद्घाटन गर्दै अध्यक्ष यादवले मुलुक समृद्ध बनाउन आर्थिक विकासमा जोड दिनुपर्ने बताएका हुन्।
युवालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता राज्यले गर्न सके मुलुकमा छिट्टै विकास र समृद्धि कायम हुने उनको भनाइ थियो।
'युवालाई सही ढंगबाट परिचालन गर्न नसकेकै कारण मुलुक पछाडि परेको हो,' अध्यक्ष यादवले भने।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले युवाको नेतृत्व विकास र रोजगारी सुनिश्चितता गर्न प्रदेश सरकारले युवा नीति बनाएर अघि बढेको बताए। युवा शक्ति नै मुलुकको भविष्य भएकाले उनीहरूलाई विकास र प्रविधिसँग जोड्न चाहेको उनले उल्लेख गरे।
कार्यक्रममा जसपाका नेता तथा जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख लालकिशोर साह, सपाका नेता तथा प्रदेशसभा सदस्य रामआशिष यादव, समाजवादी महिला संघका केन्द्रीय अध्यक्ष निर्मला यादवलगायतले आफ्ना धारणा राखेका थिए।
बुधबारसम्म भेलाले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।