सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मंसिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा बनाउन शीर्ष नेतृत्वले कार्यदललाई नै जिम्मेवारी दिएको कार्यदलका सचिव केशवराज जोशीले जानकारी दिए।
गठबन्धन दलले आगामी निर्वाचनका सन्दर्भमा सिट बाँडफाँटका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो। सोही क्रममा कार्यदलले अहिलेसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएको थियो।
छलफलमा शीर्ष नेताहरुले अहिलेसम्मको प्रगति तथा सिट बाँडफाँटका विषयलाई अन्तिम रूप दिन समेत निर्देशन दिएको बताइएको छ।
कार्यदलमा कांग्रेसबाट नेता सिटौला, सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र) बाट नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।