गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
गृह मन्त्रालयमा सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितको पत्रकार सम्मेलनमा मन्त्री खाणले यसअघिको सरकारले नेकपासँग २०७७ साल फागुन २० गते गरेको तीनबुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा रहेको जानकारी दिए।
सरकारले विगतदेखि नै राजनीतिक समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्दै आएको उल्लेख गर्दै उनले नेकपासँगको सहमति कार्यान्वयन गर्न सरकार मातहतका निकायले काम गरिरहेको बताए। गिरफ्तार नेता, कार्यकर्ता तथा विभिन्न मुद्दा लगाइएकाको सम्बन्धमा संविधान र कानुनअनुसार रिहा गर्ने, फिर्ता लिने प्रक्रिया अघि बढेको पनि मन्त्री खाणले बताए।
वर्तमान सरकार बनेदेखि नै चन्द नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयनका लागि शीर्ष तहमा वार्ता र छलफल भइरहेको बताउँदै गृहमन्त्री खाणले सहमति कार्यान्वयनका लागि गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय एवं मातहतका कार्यालय निरन्तर प्रयत्नशील रहेको बताए।
कार्यक्रममा कानुनमन्त्री कोइरालाले सरकारले नेकपासँगको सम्झौता कार्यान्वयन गर्न प्रतिबन्ध हटाउनुका साथै नेता कार्यकर्ता रिहाइका लागि प्रक्रिया अघि बढाएको बताए। सरकारले यसअघि गरेको तीनबुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको पनि उनले बताए। मन्त्री कोइरालाले नेकपाका नेताहरूविरूद्ध देशभर विभिन्न ६० जिल्लामा ६ सय १० मुद्दा दर्ता भएकामा पाँच सय २३ मुद्दा फर्छ्यौट भएको र ८७ वटा फर्छ्यौटका क्रममा रहेको जानकारी दिए।
महान्यायाधिवक्ता खातीले सरकार र नेकपाबीचको सहमति कार्यान्वयन भइरहेको बताउँदै संविधान र कानुनबमोजिम मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिए। नेताहरूविरूद्धका मुद्दाका सन्दर्भमा पुनरावेदन नलाग्ने गरी निर्णय भएको समेत उनले बताए।