नेपाली कांग्रेस (विपी) का केन्द्रीय सभापति सुशीलमान शेरचनले आगामी निर्वाचनबाट आफूहरूको पार्टी राष्ट्रिय पार्टी बन्ने बताएका छन्।
मोरङमा आइतबार उनले पत्रकारहरूसँग कुराकानी गर्दै प्रतिनिधि सभाका एक सय ६५ क्षेत्रमै उम्मेदवार उठाउने र अत्यधिक स्थानमा जित्ने दाबी गरेका थिए।
सभापति शेरचनले पार्टीले मुलुकमा सुशासन कायम गर्न, गरिबी निवारण, राष्ट्र र राष्ट्रियता जोगाउने उद्देश्यमा लाग्ने विश्वास दिलाए।
पार्टीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पार्टीले अहिले ७७ जिल्लामा सङ्घीय संसद् र प्रदेश सभाको उम्मेदवार तय गर्न, विभिन्न पार्टीका कार्यकर्तालाई प्रवेश र कार्यकर्ता भेलाको आयोजना गरिरहेको बताए।
उनले विपीले अङ्गिकर गरेको बाटोमा पार्टी सञ्चालन भइरहेको दाबी गर्दै लोकतन्त्रमा जनताको समृद्धि मुख्य कार्यसूची भएको धारणा राखेका थिए।