नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गरेका कारण आफूहरू विद्रोह गर्न बाध्य भएको बताएका छन्।
सुर्खेतमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले लामो समयसम्म अन्तरविरोध चल्दासमेत मुख्य नेतृत्वको कार्यशैलीमा सुधार आउने सम्भावना नदेखेपछि अलग पार्टी गठन गर्नुपरेको बताए।
नेता खनालले तत्कालीन नेकपा विघटन र त्यसपछि नेकपा (एमाले) विभाजन हुनुमा तत्कालीन मुख्य नेतृत्व नै जिम्मेवार रहेको बताए।
‘नेतृत्वले आफ्नो गुटलाई काखा अरूलाई पाखा लगाउने, कम्युनिष्ट आचरण, जीवनशैलीबाट च्यूत हुने र पार्टीलाई सही कार्यदिशामा हिँडाउनुको साटो एकपछि अर्को गर्दै प्रतिगामी कदम चालेकाले गम्भीर समस्या पैदा भयो’, उनले भने, ‘अन्तरविरोधबाट सिर्जित समस्याको समाधान नगरी हैकमवादी, निरंकुश कार्यशैलीले एउटै पार्टीमा रहन सम्भव भएन, धेरै प्रयास गरियो, अन्ततः समाजवादी क्रान्तिको आधार तय गर्न पुनः गतिलो क्रान्तिकारी पार्टीको आवश्यकता देख्यौं।’
उनले पार्टीले छोटो अवधिमै संगठन निर्माणमा ठूलो सफलता प्राप्त गरेको टिप्पणी गर्दै भने, ‘क्रान्तिको ठूलो उभार हाम्रोसामु छ, इमानदार भएर समयको गति बुझ्नसके हाम्रो कार्यदिशा र नीति एवं सिद्धान्त स्थापित हुनेछ, आम जनता आकर्षित हुने स्थिति छ।’
नेता खनालले कम्युनिष्ट पार्टीबीचको एकताबाट मात्र नेपालमा तीन ऐतिहासिक उपलब्धि हासिल भएको दाबी गरे।
उनले भने, ‘२०६२/६३ को जनआन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य, विदेशीका अनेक षड्यन्त्रका बाबजुद २०७२ सालमा संविधान निर्माण र २०७४ सालको संघ/प्रदेश निर्वाचनमा दुई तिहाइ जनमत हासिल भएको हो।’
एउटा निर्वाचनबाट छ प्रदेश र केन्द्रमा दुई तिहाइ बहुमतको सरकार बनाउनु कम्युनिष्ट पार्टीका लागि चानचुने उपलब्धि नभएको खनालको भनाइ थियो।