राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ माथिको छलफल राष्ट्रियसभाको अर्को बैठकमा पनि जारी रहने भएको छ।
बिहीबारको बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्नेक्रम नसकिएकाले राष्ट्रियसभाको अर्को बैठकमा पनि छलफल जारी रहने जानकारी दिए।
अर्को बैठक भदौ १७ गते शुक्रबार अपराह्न २ः ५९ बजे बस्नेगरी स्थगित भएको छ।
उक्त विधेयकमाथिको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलले नागरिकता विधेयकका सन्दर्भमा राजनीति गरेको आरोप लगाए।
अघिल्लो सरकारले अध्यादेश ल्याउँदा वैवाहिक अंगीकृत नागरिकताको विषय किन ल्याइएन भनी उनले प्रश्न गरे। उनले त्यसको जवाफ दिन पनि माग गरे। सांसद देवले अहिलेको विधेयक संविधानसम्मत रहेको पनि स्पष्ट पारे।
'राष्ट्रहितलाई केन्द्रमा राखौं'
राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्रै नागरिकताको विषयलाई अगाडि बढाउनुपर्ने सांसदहरूले बताएका छन्।
राष्ट्रियसभाको बिहीबार बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ बारेमा आफ्नो धारणा राख्दै उनीहरूले नागरिकता नपाएका नागरिकले नागरिकता पाउनुपर्ने धारणा राखे। छलफलमा भाग लिँदै सांसद देवेन्द्र दाहालले सहमतिका आधारमा नागरिकता विधेयक पारित गरिनुपर्ने उल्लेख गरे।
सांसद राधादेवी भट्टले नागरिकताको विषयमा राष्ट्रपतिले गरेको पुनः विचारसम्बन्धी धारणाको विरोध गर्नुको कुनै औचित्य नभएको बताइन्। विधेयकमा रहेका केही विषयमा प्रश्न उठेको उनको भनाइ थियो। सांसद विमला राई पौडेलले विधायन समितिमा प्रक्रिया पुर्याउन मात्रै विधेयकका सन्दर्भमा छलफल गराइएको जस्तो आफूले पाएको उनको भनाइ थियो।
सांसद इन्दु कडरियाले नागरिकता जस्तो संवेदनशील विषयलाई हल्का ढंगले लिन नहुने धारणा राखे। नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन्। सांसद विमला घिमिरेले राष्ट्रियहित, चासो र चिन्तालाई सम्बोधन गर्दै नागरिकता विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिइन्।
सांसद मोहम्मद खालिदले राष्ट्रियताको सन्दर्भमा प्रस्तुत नागरिकता विधेयकले कुनै पनि हानिनोक्सानी नगर्ने र विरोध गर्नुको औचित्य नभएको बताए।
सांसद गोपाल भट्टराई र तुलसाकुमारी दाहालले विधेयक ल्याउने सवालमा समेत प्रक्रिया नपुर्याइएको बताए। सांसद इन्दिरादेवी गौतमले नागरिकताविहीनलाई नागरिकता दिने विषयमा समस्या नभए पनि यसलाई हलुका बनाउन नहुने बताइन्।