आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशील दलहरूले उम्मेदवार हुन आकांक्षा राख्नेहरूको नाम धमाधम सिफारिस गरेका छन्।
नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन्।
प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका नामहरूलाई जिल्ला कमिटीले प्रदेश र प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गर्ने गरी पार्टीहरूले पद्धतिको विकास गरेका छन्।
सोहीअनुसार अधिकांश पार्टीको प्रदेश क्षेत्रीय कमिटीले संघीय क्षेत्रीय कमिटी र सङ्घीय क्षेत्रीय कमिटीले जिल्ला कमिटीलाई आकाङ्क्षीहरूको नाम सिफारिस गर्न थालेका हुन्।
एमालेले बागलुङ क्षेत्र नं २ प्रदेशसभा (ख) प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ।
एमालेले प्रदेशसभा सदस्य पदका लागि तीन जनाको नाम सिफरिस गरेर पठाएको हो।
शुक्रबार बुर्तिबाङमा भएकोे बैठकबाट एमालेका नेता टङ्कप्रसाद पौडेल, लक्ष्मण पुन र लक्ष्मी शेन सुनारको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको नेकपा एमाले ढोरपाटन नगर कमिटीका उपसंयोजक ज्ञानप्रसाद कँडेलले जानकारी दिए।
एमालेले १९ गतेभित्र जिल्लाका सबै क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेर पठाइसक्ने जनाएको छ।
सोहीअनुसार शनिबार बाँकी रहेका तीनवटै प्रदेशसभा क्षेत्रीय कमिटीको बैठक बसेर उम्मेदवार हुन आकाङ्क्षीहरूको नाम सिफारिस गर्ने एमाले बागलुङका सचिव विष्णु भुसालले जानकारी दिए।
एमालेमा प्रदेशसभामा समानुपातिकको सूचीका लागि भने जिल्ला कमिटीले आकाङ्क्षीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ प्रदेशसभा (ख)ले निर्वाचनमा उम्मेदवार बन्न इच्छुक आकाङ्क्षीको नाम सिफारिस गरेको छ।
बिहीबार बुर्तिबाङमा भएको बैठकबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न आफ्नो आकाङ्क्षा रहेका १३ जना प्रतिनिधिको नाम क्षेत्रमा पठाउने निर्णय भएको हो।
प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ छ जना सिफारिस भएका हुन्। प्रत्यक्षतर्फ महाधिवेशन प्रतिनिधि अर्जुन शेरचन, ऋषिराम कँडेल, गणेश शेरचन, टेकराज पौडेल, देवेन्द्रकुमार घर्तीमगर, शैलेश घर्तीमगर, सागर छन्त्यालको नाम सिफारिस गरिएको छ।
त्यसैगरी समानुपातिकतर्फ तुलासिंह घर्तीमगर, दिलमाया पौवी, नरजङ्ग घर्ती, मेषलाल शर्मा, सीताकुमारी शर्मा, हितदेवी घर्तीको नाम सिफारिस गरिएको छ। समानुपातिकमा तीन जना महिलाको नाम सिफारिस भएको हो।
त्यस्तै नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ प्रदेशसभा (ख)ले निर्वाचनमा उम्मेदवार बन्न इच्छुक आकाङ्क्षीको नाम सिफारिस गरेको छ। बिहीबार कुश्मीशेरा बजारमा सम्पन्न बैठकबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न आफ्नो आकाङ्क्षा रहेका १३ जना प्रतिनिधिको नाम क्षेत्रमा पठाउने निर्णय भएको हो।
प्रत्यक्षतर्फ छ जना र समानुपातिकतर्फ सात जना सिफारिस भएका हुन्।
प्रत्यक्षतर्फ क्षेत्रीय सभापति दलबहादुर श्रीष राना, नेता सागर परियार, हरिप्रसाद आचार्य, ओमकार थापा, कमराज सापकोटा र इन्द्रराज पौडेलको नाम सिफारिस गरिएको जिल्ला सचिव हरिहर शर्माले बताए।
त्यसैगरी समानुपातिकतर्फ कल्पना पाठक (हमाल), शेरबहादुर विक, सीताराम रसाइली, पदमबहादुर पुन, विष्णु बस्नेत खत्री, लक्ष्मण आचार्य र श्रीकृष्ण पौडेलको नाम सिफारिस भएको हो।
सात जनाको नाम सिफारिस गर्दा कांग्रेसले दुई जनामात्रै महिलाको नाम क्षेत्रीय समितिलाई पठाएको छ।
क्षेत्रीय समितिले आवश्यक छानविनपछि जिल्ला समितिलाई पठाएका नामावलीमध्येबाट उम्मेदवारका आकाङ्क्षीको नाम प्रदेश समितिमा पठाइने सचिव शर्माले बताए।