नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने बताएका छन्। निर्वाचनमा भाग लिए पनि 'पुँजीवादी सरकार' मा नजाने उनले बताए।
नेमकिपाको केन्द्रीय समितिको बैठकमा उनले शासक दलको अकर्मण्यताका कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको आरोप लगाए।
उनले सत्तामा बस्दै आएका नेपालका कम्युनिस्ट पार्टीले समाजवादबारे भ्रम छरेको टिप्पणी पनि गरे।
अध्यक्ष बिजुक्छेले भने, 'समाजवादमा उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्कको व्यवस्था, व्यक्तित्व विकासमा समान अवसर, धनी र गरिबको दूरी कम गर्ने, गाउँ र सहरबीचको भेद कम गर्नेजस्ता बन्दोबस्त लागू हुनुपर्छ।'
बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
पार्टीको केन्द्रीय परिषद बैठक आइतबार पनि चल्ने बताइएको छ।
केन्द्रीय परिषद बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्लाका अध्यक्ष, जनवर्गीय संगठन तथा पेसागत संगठनका पदाधिकारीको सहभागिता छ।