धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू दार्चुलाको सदरमुकाम खलंगा पुगेका छन्।
उनीसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामी पनि खलंगा पुगेका हुन्।
शुक्रबार राति परेको अविरल वर्षाका कारण बाढी-पहिराले पाँच जनाको मृत्यु भएको छ। बाढी-पहिराले ठूलो क्षति भएपछि निरीक्षण गर्न मन्त्री बडू त्यहाँ पुगेका हुन्।
बाढीपहिरामा परी मृत्यु हुनेमा तीन जना महिला दुई जना पुरुष गरी पाँच जना छन्।
महाकाली नगरपालिका–२ मुल्ला ७७ वर्षीय नन्दराम बोहरा, महाकाली–३ डुङ्री बस्ने ३५ वर्षीया मानमती कार्कीको मृत्यु भएको हो। यस्तै नौगाड गाउँपालिका-१ बस्ने ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ४५ वर्षीय मोहनराम पार्कीको पनि शव फेला परेको हो।
पहिरामा परी घाइते भएका नौगाड गाउँपालिकाका रामसिंह ठगुन्ना, वीरा ठगुन्ना, फागुली ठगुन्ना र जयबहादुर ठगुन्नालाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पुर्याएर उपचार भइरहेको छ।
२० वर्षीया सुत्केरी हरिना महरको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए।
घाइते हुनेमा तीन महिला र पाँच पुरुष गरी जम्मा आठ जना छन्।
बाढी-पहिरामा अहिलेसम्म चार महिला र छ पुरुष गरी १० जना बेपत्ता छन्।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अविरल वर्षाका कारण पहिरामा पुरिएर दुई सय ६३ पशुचौपायको मरेका छन्।
महाकाली नगरपालिका बङ्गाबगरस्थित पार्किङमा रोकेर राखेको अवस्थामा छ वटा जीप ,एउटा कार , एउटा ट्र्याक्टर, एउटा स्काभेटर गरी जम्मा नौ वटा सवारीसाधन बाढीले बगाएको छ।
त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको छ भने नौ वटा घरमा आंशिक क्षति भएको छ।
४० घर अझै जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रबहादुर सिंहले बताए।
महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ। बाढीले महाकाली–३ मा रहेको डुङ्ग्री विद्युत पावर हाउसमा पनि पूर्णरूपले क्षति भएको छ। झोलुङ्गे पुल दुई र मोटरेवल पुल एक गरी जम्मा तीन पुलमा पूर्ण क्षति भएको छ।
सदरमुकाम खलंगामा खानेपानीको समेत हाहाकार मच्चिएको छ। स्थानीय बलवीर ठगुन्नाका अनुसार बिहानदेखि खानेपानीको निकै समस्या भएको र नेपाली सेनाले ब्यारेकबाट खानेपानी सहज गरिदिएको बताए। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले विपद्मा परेकाको उद्धार र बेपत्ता भएकाको खोजीकार्य जारी राखेका छन्।