युक्रेनले आइतबार आफ्ना सेनाले देशको पूर्वी क्षेत्रमा रणनीतिक नियन्त्रणबाट रूसी सेनालाई पछाडि धकेल्ने बताएको छ। युक्रेनको व्यापक प्रत्याक्रमणपछि पूर्वी क्षेत्रबाट रूसले पछि हट्ने घोषणा गरिरहेको बेला युक्रेनले यस्तो बताएको हो।
युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम 'रियाक्टर' पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।
रूसको आक्रमणविरूद्ध युक्रेनको लडाइँ गतिले मस्को सेनालाई सतर्क बनाएको छ। यसले रूसले महिनौं अघिदेखि नियन्त्रण गरेको क्षेत्र युक्रेनको पक्षमा ल्याएको छ।
युक्रेनी सेनाले पोस्ट गरेको तस्वीरमा रूसी सेनाले छोडेको क्षेत्रमा फ्याँकिएका हतियार र परित्यक्त सैन्य सामानका बाकसहरू छरिएको देखिएको छ।
'खार्किभ क्षेत्रको कुपियान्स्क र इज्युम जिल्लाका बस्तीहरू मुक्त गर्ने कार्य जारी छ,' युक्रेनी सेनाले रूसको आक्रमणको दुई सय दिनपछि आइतबार युद्धबारे गरेको जानकारीमा भनेको छ।
यी आपूर्ति र बन्दोबस्तीका प्रमुख केन्द्रहरू हुन्। युक्रेनको पूर्वमा रूसले आफ्नो अग्रपंक्तिको स्थिति पुनः एकीकृत गर्न यी बस्ती महत्वपूर्ण छन्।
युक्रेनले ती बस्ती आफ्नै कब्जामा फिर्ता गर्नु मस्कोको सैन्य महत्वाकांक्षामा गम्भीर आघात पुग्ने सैन्य पर्यवेक्षकहरूले बताएका छन्।
युक्रेनी सेनाका प्रमुखले यस महिनाको सुरूआतमा आक्रमण सुरू भएयता रूसबाट तीन हजार वर्ग किलोमिटर (१,१५८ वर्ग माइल) क्षेत्र कब्जा गरिएको आइतबार बिहान घोषणा गरेका थिए।
यो संख्या राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले शनिबार अबेर घोषणा गरेको कुल क्षेत्रफलभन्दा करिब एक तिहाइ बढी हो। आइतबार उनले खार्किभ र इज्युमको बीचमा रहेको करिब चार हजार जनसंख्या भएको एउटा गाउँलाई युक्रेनी सेनाले कब्जामा लिएको घोषणा गरेका थिए।
'महान युक्रेनी झन्डा चकालोभ्स्केमा फिर्ता गरिएको छ र यो जताततै यस्तै हुनेछ। हामी प्रत्येक युक्रेनी सहर र गाउँबाट कब्जा गर्नेहरूलाई बाहिर निकाल्नेछौं,' उनले भिडिओ सम्बोधनमा भने।
युक्रेनी अधिकारीहरूले यस हप्ताको अन्त्यमा प्रत्याक्रमणको 'आश्चर्यजनक' गतिको प्रशंसा गरेका छन्। आइतर देशका विदेश मन्त्रीले पश्चिमी सहयोगीहरूलाई परिष्कृत हतियारहरूको थप भण्डारका लागि अपील गर्न यो गतिको प्रयोग गरेका देखिन्छ।
'हतियार, हातहतियार, हातहतियार बसन्त ऋतुदेखि नै हाम्रो एजेन्डामा छन्। युक्रेनको युद्धभूमिको सफलता हाम्रो साझा सफलता हो,' दिमित्रो कुलेबाले भनेक, 'म साझेदारहरूप्रति आभारी छु जसले हाम्रो आग्रहप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।'
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'हतियारको तत्काल आपूर्तिले विजय र शान्तिलाई नजिक ल्याउनेछ।'
युक्रेनको जितप्रति मस्कोको प्रतिक्रिया मौन छ। तर आइतबार बेल्गोरोडको सीमा क्षेत्रका एक अधिकारीले 'हजारौं' मानिसहरू सीमा पार गरेर खार्किभ क्षेत्र र रूसतर्फ भागेको बताएका छन्।
एक हजारभन्दा बढी मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको पनि ती अधिकारीले बताए।
रूसी सेनाले शनिबार खार्किभदेखि दक्षिणमा रहेको डोनेट्स्क क्षेत्रमा आफ्नो सैन्य प्रयास केन्द्रित गर्न आफ्ना सेनालाई 'पुनः संगठित' गर्ने घोषणा गरेको थियो। मस्कोले खार्किभतर्फ सुदृढ आक्रमण केन्द्रित गरिरहेको भन्ने घोषणाको केही समयपछि युक्रेनको यो भनाइ आएको हो।
युक्रेनी सेनाले पुनः कब्जामा लिएको भनिएका सहरमध्येको एक बालाकलिया वरपर भीषण युद्धका प्रमाणहरू देखिएका छन्। त्यहाँ भवनहरू ध्वस्त र क्षतिग्रस्त भएका छन्। सडकहरू मुख्यतया सुनसान थिए।
महिनौंपछि साइकल चलाउन बाहिर निस्केकी युक्रेनी ५२ वर्षीया इरिना स्टेपानेन्कोले आफू तीन महिनासम्म आफ्नो भुइँतलामा लुकेको बताइन्।
'त्यहाँ गोलाबारी हुने धेरै डर थियो। यो डरलाग्दो थियो,' उनले रूसी अधिग्रहण र युक्रेनले सहरलाई पुनः कब्जा गर्ने प्रयासको सम्झना गरिन्। आक्रमण अघि बालाकलियामा लगभग २७ हजार मानिसहरू बस्थे।
किभ सेनाले सहरलाई पुनः कब्जा गरेको देखेर आफूलाई राहत मिलेको तर भविष्यबारे अझै चिन्तित रहेको उनले बताइन्।
'मलाई चिन्ता छ। रूसीहरू फर्कन सक्छन्। गोलाबारी फेरि सुरू हुन्छ कि भन्ने अझै मलाई चिन्ता छ,' उनले भनिन्।
युक्रेनी प्रत्याक्रमणका बाबजुद रूसी सेनाले अग्रपंक्तिमा र डोनेट्स्क क्षेत्रमा निरन्तर बमबारी जारी राखेको र गोलाबारीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
यसैबीच, जापोरिजिया आणविक ऊर्जा केन्द्र र त्यसको वरपर जारी द्वन्द्वका कारण सन् १९८६ मा उत्तरी युक्रेनमा भएको चेर्नोबिल दुर्घटनाजस्तै अर्को आणविक घटनाको आशंका बढेको छ। युक्रेनको सरकारी आणविक निकायले आइतबार प्लान्टको छैठौं र अन्तिम रियाक्टर बन्द गरिएसँगै प्लान्ट पूर्ण रूपमा बन्द भएको जनाएको छ।
एनरगोएटम नामक आणविक केन्द्रको छैठौं रियाक्टरले तीन दिनदेखि प्लान्टका लागि नै ऊर्जा उत्पादन गरिरहेको र बाह्य ऊर्जा प्लान्टमा पुनःस्थापित भएपछि यसको सञ्चालन रोक्ने निर्णय भएको जनाएको हो। तथापि केन्द्रले सुविधाको सुरक्षा सुनिश्चित गर्ने एक मात्र तरिका यसको वरिपरि एक असैन्यीकृत क्षेत्र सिर्जना गर्नु हो।
सुविधाको सुरक्षा सुनिश्चित गर्ने एक मात्र तरिका यसको वरिपरि एक असैन्यीकृत क्षेत्र सिर्जना गर्नु रहेको केन्द्रका अधिकारीले बताएका छन्।