निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने गरी निर्धारण गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गरी प्रचलित कार्यविधि बमोजिम सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार भएको बताएका हुन्।
आयोगले मातहतका जिल्ला निर्वाचन कार्यालयमा उक्त सूची पठाएको छ। आगामी मंसिर ४ गते निर्वाचन हुने तोकिएको छ।