मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारलाई निर्वाचन आचारसंहिताको बारेमा जानकारी गराएको छ ।
निर्वाचन आचारसंहिता सम्बन्धमा सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, राजनीतिक दल, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीलाई मङ्सिर ४ गते हुने निर्वाचनको आचारसंहिताका विषयमा जानकारी गराएको हो।
राजनीतिक दल, उम्मेदवार, तीनका भ्रातृ संस्था तथा सञ्चारकर्मी र मिडियाले गर्नुपर्ने आचारसंहिताका विषयमा जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीले सो अवसरमा जानकारी गराए।
उनले आचारसंहिताको पालना नगरेमा हुने कारबाहीको बारेमा पनि जानकारी गराएका थिए।
कार्यक्रममा राजनीतिक दल तथा स्वतन्त्रबाट सङ्घ र प्रदेशमा उम्मेदवारी दिएकाहरुले आचारसंहिता पूर्णरूपमा कार्यन्वयन गर्ने प्रतिबद्धता जाहेर व्यक्त गरेका थिए।
अर्घाखाँचीमा सङ्घतर्फ ११, प्रदेश ‘क’ मा आठ र प्रदेश ‘ख’ मा नौ गरी २८ जनाको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृत डा श्री कृष्ण भट्टराईले जानकारी दिए।
उनले निर्वाचनको समयमा सामाजिक सञ्जाल र मिडिया प्रयोगको बारेमा उम्मेदवार र दलका प्रतिनिधिलाई जानकारी गराएका थिए।
निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सम्पन्न हुने भएकाले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई ढुक्क भएर आचारसंहिताभित्र बसेर निर्वाचन केन्द्रित कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आग्रह गरे।
जिल्लामा एक लाख ६४ हजार सात सय ६८ मतदाता छन्।