नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन्।
आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरूको रहेको बताए।
गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरू गरेको नेता पौडेलले उल्लेख गरे।
'गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस सहर झरेका छन्, अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ, अब आम्दानी र रोजगारीको अवसर पनि पुग्छ', उनले भने।
तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा दुई अर्ब रुपैयाँभन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गरे।
सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कृषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उनले उल्लेख गरे।
वरिष्ठ नेता पौडेलले आजै व्यास–१३ बेनीकोट, पोखरीभञ्ज्याङ, गुदी, व्यास–१४ केशवटार, रुम्सी, ठिन, नयाँ गाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ।