नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना रहेको बताएका छन्। व्यास नगरपालिका–१२ स्थित कमलबारीमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताए।
सहिदको बलिदानबाट प्राप्त जनताको अधिकारलाई कुठाराघात गर्ने प्रवृत्ति हावी हुँदै गएकाले त्यसको रक्षाका लागि गठबन्धनले खबरदारी गर्दै आएको उनको भनाइ थियो।
गाउँमा विकास र रोजगारी सिर्जना गर्न जनतालाई मालिक बनाउने उनले बताए।
'विदेशिने युवा शक्तिलाई स्वदेशमा बसेर रोजगारी गर्ने वातावरण मिलाइने गरी काम गरिनेछ,' उनले भने।
गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य हरिबहादुर चुमानले गठबन्धन सत्ता, पद, निर्वाचनका लागि मात्रै नभई राष्ट्रियतासँग जोडिएको बताए।
देशमा सुशासन कायम गर्न सकिए मात्रै प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरूत्साहित गर्न सकिने उनले बताए।
'कांग्रेस एक्लैले दुई तिहाइको बहुमत ल्याउन नसक्ने हुँदा देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढ्न आवश्यक देखिएकाले सँगै हातेमालो गर्दै अघि बढेका हौं,' उनले भने।