प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताएका छन्।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताए।
चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने बताए।
राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले भने, ‘यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ। अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ।’
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी संख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, ‘प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएको थियो। छ हजारभन्दा बढी खेलाडीले चार सय सात स्वर्णलगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए।’
प्रतियोगिताको दौरानमा राष्ट्रिय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कतिपय विधामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत राख्न सफल भएको उनले बताए।
प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ खेल प्रतियोगितमा एक जना खेलाडीको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै प्रधानमन्त्रीले दिवङ्गत खेलाडीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए।
आगामी दिनमा यस प्रकारका दुःखद् घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन पनि उनले सम्बद्ध सबैलाई निर्देशन दिए।