दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित हुने छ।
बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेका छन्। तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
यसैगरी पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा ५५/५५ जना तथा मेलौली नगरपालिकामा ५० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए।
उनका अनुसार दोगडाकेदार र सुर्नया गाउँपालिकामा ४५/४५ जना, पञ्चेश्वर र शिवनाथ गाँउपालिकामा ३५/३५ जना, सिगास गाउँपालिकामा ५० जना र डिलाशैनी गाउँपालिकामा ४० जना जनप्रतिनिधि निर्वाचित हुने छन्।
प्रत्येक नगरपालिका र गाउँपालिबाट एक/एकजना प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष, प्रत्येक वडाबाट एक वडा अध्यक्ष र कम्तीमा दुई महिला सदस्यसहित पाँचजना सदस्य निर्वाचत हुने छन्। निर्वाचनपछि हुने गाउँसभा र नगरसभाले थप जनप्रतिनिधिलाई चुन्नुपर्ने व्यवस्था छ। अल्पसङ्ख्यक, अपाङ्गता भएका र सीमान्तकृत समुदायको प्रतिनिधित्व हुने गरी प्रत्येक गाउँसभाले दुई जना र नगरसभाले तीनजनालाई चुनिने व्यवस्था छ।
कुल एक लाख २४ हजार ८२४ जना मतदाता रहेको बैतडीमा १२० मतदानस्थल तोकिएको छ। रासस