तेह्रथुमको छथर गाउँपालिकाका दलित र महिलालाई निर्वाचनसम्बन्धी शिक्षा दिइएको छ।
दलित वर्ग उत्थान जिल्ला समन्वय समितिले शुक्रबारे बजारमा कार्यक्रमको आयोजना गर्दै छथर क्षेत्रका दलित घरधुरी सदस्यहरु र दलित महिला उम्मेदवारलाई आसन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिएको हो।
कार्यक्रममा स्थानीय तह निर्वाचनको महत्व, आवश्यकता, स्थानीय तह गठन प्रक्रिया, गाउँ सभा, गाउँ कार्यपालिका, नगर सभा, नगर कार्यपालिका, जिल्ला सभा, समन्वय समितिलगायत विषयमा सहभागीलाई जानकारी दिइएको उपाध्यक्ष जमुना बर्देवाले बताए।
सहभागीले स्थानीय तह निर्वाचनमा दलित सहभागिता सन्तोषजनक रुपमा नै भएको भन्दै निर्वाचित प्रतिनिधिलाई पनि विभेदको सिकार भएर नबस्न सुझाव दिए।
महिला उम्मेदवारले भने निर्वाचित भएपछि दलित समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा निर्वाचन शिक्षा स्रोत व्यक्ति कृष्णप्रसाद घिमिरेले सहजीकरण गरेका थिए। रासस