आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोजपुर जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
जिल्ला सुरक्षा समितिले निर्वाचन सहजरुपमा गर्न र निर्वाचन हित विपरीत गतिविधि हुन नदिन विशेष सुरक्षा अपनाएको हो।
सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी र म्यादी प्रहरीलाई २४सै घन्टा तैनाथ गरिएको सुरक्षा समितिका सदस्य एवम् प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
छपन्न मतदान केन्द्रलाई सुरक्षाका दृष्टिले संवेदनशील केन्द्र भनेकोछ । अन्य ८५ केन्द्र भने सामान्य रहेका छन्। संवेदनशील केन्द्र भनिएकामा चार नेपाल प्रहरी र पाँच म्यादी प्रहरी खटिने भएका हुन्। यसैगरी बाहिरी घेरामा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको मोबाइल टोली खटाइने भएको छ।
निर्वाचनमा थप सुरक्षाका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टरले सुरक्षा दिने व्यवस्था गरिएको छ। भोजपुरका ८१ वडामा ५२ हजार १६ महिलासहित एक लाख पाँच हजार ५५४ मतदाता रहेका छन्। रासस